विद्युत् प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत बट्टार र त्रिशूली बजारमा पठायो बिजुली
काठमाडाैं । भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित बनेका नुवाकोटका बट्टार, त्रिशूली बजार तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको छ।
नियमित विद्युत् आपूर्ति गर्ने संरचनामा बाढीले क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण संरचनाको प्रयोग गरेर प्रभावित क्षेत्रमा बिजुली पुर्याएको हो। प्राधिकरणले बालाजु–त्रिशूली र चपली–देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभी प्रणालीमा चार्ज गरी आपूर्ति व्यवस्था मिलाएको जनाएको छ।
बाढीका कारण मुख्य विद्युत् प्रणाली प्रभावित भएपछि तत्काल वैकल्पिक माध्यमबाट सेवा सञ्चालन गर्ने प्रयास गरिएको थियो। त्यसक्रममा उपलब्ध प्रसारण संरचनालाई आवश्यक प्राविधिक व्यवस्थापनसहित प्रयोगमा ल्याएर बट्टार, त्रिशूली बजारसहित आसपासका क्षेत्रमा विद्युत् पुर्याइएको हो।
प्राधिकरणका अनुसार यसबाट बाढीका कारण विद्युत् सेवाबाट प्रभावित भएका स्थानीयलाई तत्काल राहत पुगेको छ। यद्यपि, बाढीले क्षति पुर्याएका अन्य विद्युत् संरचनाको मर्मत र पुनःनिर्माणको काम भने जारी छ।














