१२ भदौ २०८३, शुक्रबार

तीज कार्यक्रम रद्द गर्दै नेपाल कल्याण समाज जापानद्वारा बाढी पीडितलाई २ लाख सहयोग



काठमाडाैं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल कल्याण समाज जापानले सेप्टेम्बर ८ तारिखका लागि तय गरेको तीज विशेष कार्यक्रम रद्द गरेको छ।

देश बाढीको पीडामा रहेका बेला परदेशमा उत्सव मनाउनु उचित नहुने निष्कर्षसहित समाजले अन्तिम चरणमा पुगेको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। कार्यक्रमका लागि व्यापक तयारी पूरा भइसकेको अवस्थामा पनि प्राकृतिक विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै समाजले उत्सवभन्दा मानवीय सहयोगलाई प्राथमिकता दिएको समाजका बरिस्ठ उपाध्यक्ष कासिराम भण्डारीले जानकारी दिए ।

उपाध्यक्ष भण्डारीका अनुसार केही समयअघि संस्थाको आयोजनामा सम्पन्न ‘प्रथम हाकोने भलिबल प्रतियोगितामा ‘ सहयोगी दाताहरूबाट संकलित रकममध्ये बचत भएको नेपाली रुपैयाँ २ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

समाजले विपत्तिको समयमा पीडित परिवारको दुःखमा साथ दिन सबैलाई आफ्नो–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न अपिलसमेत गरेको छ।

‘परदेशमा तीज भनेको घर सम्झिने पर्व हो। यसपटक घर सम्झँदा देशको पीडा पनि सम्झियौँ । देशको आँगन बाढीले रुँदा हामी उत्सव मनाउन कहाँ सक्थ्यौँ र। त्यसैले यसपालीको तिज कार्यक्रम रोकिएको छ । ’ उपाध्यक्ष भण्डारीले भने ।

समाजले विपत्तिमा परेका नेपालीका लागि आफू जहाँ भए पनि सहयोगको हात बढाउन आग्रह गरेको छ । नेपाल कल्याण समाज जापानले सहयोगी दाता, शुभेच्छुक तथा सम्पूर्ण सहयोगी मनहरूप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।