देशभर तीन दिनसम्म मौसम प्रभावित, पहाडी र हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना
देशभर आगामी तीन दिनसम्म मौसम बदली रहनुका साथै विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । देशभरको मौसम आगामी तीन दिनसम्म प्रभावित हुने देखिएको छ। मौसम विज्ञान विभागका अनुसार अधिकांश भूभागमा साधारणतया बदली रही चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। विशेष गरी पहाडी र हिमाली क्षेत्रमा यस अवधिमा बढी सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।
आज शनिबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा तथा मधेस र कोशीका तराईमा पनि मध्यम वर्षाको आकलन गरिएको छ। यसैगरी कोशी, बागमती र गण्डकीको हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्नेछ भने कोशी र गण्डकीका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
शनिबार राति पनि मौसमको यो क्रम निरन्तर रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा भारी र अति भारी वर्षाको जोखिम कायम रहनेछ। भोलि आइतबार दिउँसो पनि देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भूभागका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। आइतबार राति भने वर्षाको मात्रा केही कम हुने देखिए पनि पहाडी र तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको क्रम जारी रहनेछ।
आगामी सोमबार दिउँसो देशको हिमाली भूभागका केही र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि मध्यम वर्षाको आकलन गरिएको छ भने देशका पहाडी भूभाग तथा सुदूरपश्चिमको तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। सोमबार राति कोशी प्रदेश तथा बागमतीको हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ।
आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा हुने भारी वर्षाका कारण नदीनालामा पानीको सतह बढ्ने, गेग्रान बहाव आउने, बाढी, पहिरो तथा भूक्षय जाने जोखिम उच्च रहेको छ। यसले दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात र उद्धार कार्यमा असर पार्न सक्ने भएकाले मौसम विभागले सबैलाई आवश्यक सतर्कता अपनाउन र नियमित रूपमा अद्यावधिक सूचना लिन अनुरोध गरेको छ।













