चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी नागरिक बेपत्ता, १०४ जना नेपाली
काठमाडौं । गत भदाै १० गते आएको विनासकारी बाढीमा चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएका छन्।
चीनको स्वायत्त क्षेत्र तिब्बतका अधिकारीहरूले पत्रकार सम्मेलन गर्दै बेपत्ता हुने विदेशी नागरिकहरूमा सबैभन्दा बढी नेपालका १०४ जना रहेका बताएका छन्।
त्यसैगरी भारतका ४९, लात्भियाका ३३, अमेरिकाका १८ र बेलायतका १५ जना नागरिकको अवस्था अझै अज्ञात छ। बेइजिङस्थित चिनियाँ अधिकारीहरूले सम्बन्धित देशका कूटनीतिक नियोगहरूलाई यस विषयमा जानकारी गराइसकेको जनाइएको छ।
बुधवार हिमनदी (ग्लेशियर) फुट्दा हिमालका नदीहरूमा हिउँ, चट्टान, गेग्रान र लेदोसहितको बाढी आएको थियो। त्यस घटनापछि चिनियाँ पक्षले बेपत्ता भएका विदेशीहरूको राष्ट्रियतासहितको विवरण सार्वजनिक गरेको यो पहिलो पटक हो।
शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जिरोङ काउन्टीमा मात्रै १६ जनाको मृत्यु भइसकेको छ भने ५४६ जना अझै बेपत्ता छन्।
यता नेपालतर्फ भने कम्तीमा ६७५ जनाको मृत्यु भएको, २,४९८ जना बेपत्ता रहेको र ७,५१४ जनाको उद्धार गरिएको प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ।उद्धार कार्य जारी रहे पनि थप बाढी आउन सक्ने जोखिम कायमै रहेको छ।
आपतकालीन उद्धारका लागि चीनले २,१०० भन्दा बढी उद्धारकर्मी परिचालन गरेको छ भने राहत कार्यलाई सहयोग गर्न कम्तीमा २२ करोड युआन छुट्याएको छ। रेड क्रसको अनुमान अनुसार यस विपदबाट ९० हजारभन्दा बढी मानिस प्रभावित भएको आशङ्का गरिएको छ।













