१४ भदौ २०८३, आइतबार

बाढीपछिको पुनर्निर्माणमा ५ अर्ब अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान



काठमाडाैं । भदाै १० आएको विनाशकारी बाढी तथा पहिरोका कारण क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि नेपाललाई करिब ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने देखिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रोयटर्ससँग कुरा गर्दै यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १० प्रतिशत हुने बताएका हुन् ।

अर्थमन्त्रीले भनेका छन्, ‘क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि नेपाललाई चारदेखि पाँच अर्ब अमेरिकी डलर आवश्यक पर् सक्छ, यो हाम्रो प्रारम्भिक अनुमान मात्र हो। तर यो रकम सन् २०१५ को विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा लागेको खर्चभन्दा भने धेरै कम हो। हाल क्षति र नोक्सानीको विस्तृत मूल्याङ्कन भइरहेको छ।’

गत बुधबार गएको हिमनदी (ग्लेशियर) विस्फोटनले हिमालय क्षेत्रका नदीहरूमा लेदो, हिउँ र चट्टानको बाढी निम्त्याएको थियो। यस प्राकृतिक विपद्का कारण नेपाल र चीनको तिब्बततर्फ ७०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने हजाराैँ अझै बेपत्ता छन्।

बाढीले सीमावर्ती क्षेत्रका बजारहरू तहसनहस पार्नुका साथै पुल, सडक र प्रमुख जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्‍याएको छ।

सन् २०१५ मा गएको ७.८ म्याग्निच्युडको भूकम्पले नेपालमा ९ हजार जनाको ज्यान लिनुका साथै ५ लाखभन्दा बढी घरहरू ध्वस्त पारेको थियो र अर्थतन्त्रको करिब एक तिहाइ बराबरको क्षति पुर्‍याएको थियो। त्यसबेला पुनर्निर्माणका लागि ९ अर्ब अमेरिकी डलर खर्च भएको थियो।

रेमिट्यान्स, पर्यटन र जलविद्युत् क्षेत्रमा निर्भर नेपाली अर्थतन्त्रका लागि बुधबारको यो बाढी एक ठूलो झट्का बनेको छ। विशेष गरी मुलुकको कुल राष्ट्रिय विद्युत् उत्पादन क्षमताको १२ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका जलविद्युत् आयोजनाहरूमा क्षति पुग्दा ऊर्जा क्षेत्रमा ठूलो असर परेको छ।