बाढीले विद्यालय तहसनहस, ७२०० विद्यार्थीको भविष्य अन्योलमा
काठमाडाैँ । विगत केही दिनअघि आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका शैक्षिक संस्थाहरूमा गम्भीर क्षति पुगेको छ। यस प्राकृतिक विपत्तिले यी तीन जिल्लाका झन्डै ७ हजार २ सय विद्यार्थीहरूको पठनपाठन अनिश्चित बन्न पुगेको छ भने कयौँ विद्यालयहरू भग्नावशेषमा परिणत भएका छन्।
अचानक आएको बाढीले ती तीन जिल्लाका कुल एक्काइस वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूमा ठूलो क्षति पुर्याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार विशेष गरी रसुवा र नुवाकोट जिल्लाका विद्यालयहरूमा बाढीले सबैभन्दा बढी विध्वंस मच्चाएको छ। रसुवामा ६ वटा विद्यालयहरूमा व्यापक क्षति भएको छ भने नुवाकोटका ७ मध्ये ४ वटा विद्यालयहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।
बाँकी ३ वटा विद्यालयहरूमा लेदो र गेगर पसेका कारण भवनहरू प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्। धादिङमा पनि ८ वटा विद्यालयहरू प्रभावित बनेका छन्।
यस तहको भौतिक क्षतिपछि पुरानै स्थानमा र पुरानै अवस्थामा पठनपाठन पुनः सञ्चालन गर्न सकिने सम्भावना नरहेको स्थानीय तहका अधिकारीहरूले स्वीकार गरेका छन्। शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटप्रमुख सूर्यबहादुर खत्रीले पूर्ण रूपमा क्षति पुगेका विद्यालयहरूमा तत्काल कक्षा सञ्चालन असम्भव रहेको बताए।
बाढीले विद्यालय भवन मात्रै बगाएको छैन, कयौँ स्थानमा पठनपाठन सञ्चालन गर्ने जमिनसमेत बाँकी राखेको छैन। त्यसैले अब विकल्पहरू खोजेर मात्रै शैक्षिक गतिविधिलाई अगाडि बढाउनुपर्ने अवस्था सिर्जना भएको छ।
सम्पर्कविहीन शिक्षक र विद्यार्थीको चिन्ता
बाढीले भौतिक संरचना मात्रै होइन, मानवीय क्षति र सम्पर्कविहीनताको ठूलो पीडਾ पनि छोडेर गएको छ। मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार प्रभावित क्षेत्रका दुई सय तेह्र जना विद्यार्थी र नौ जना शिक्षकहरू अझै सम्पर्कविहीन रहेका छन्। रसुवामा त केही प्रधानाध्यापक र स्थानीय वडा सदस्यहरूसमेत हराइरहेको खसखबर प्राप्त भएको मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामीले बताए।
तर, केही स्थानमा भने समयमै अपनाइएको सतर्कताले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। बाढी बस्तीमा प्रवेश गर्नुअघि नै विद्यालयहरूले विद्यार्थी र शिक्षकहरूलाई सुरक्षित स्थानमा सार्न सफल भएका थिए।
उदाहरणका लागि, करिब १६०० विद्यार्थी र डेढ सय शिक्षक रहेको नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका सबै विद्यार्थीलाई समयमै सुरक्षित स्थानमा सार्न सफल भएपछि ठूलो अप्रिय घटना टरेको छ । जसको अहिले चौतर्फी प्रशंसा भइरहेको छ।
राहत र मनोसामाजिक परामर्श
अहिले सरकारको सम्पूर्ण ध्यान उद्धार र राहत वितरणमै केन्द्रित रहेको छ। अवस्था सामान्य बन्दै गएपछि बालबालिकालाई नजिकैका अन्य पायक पर्ने विद्यालयहरूमा व्यवस्थापन गर्ने वा अस्थायी रूपमा पालमुनि पठनपाठन सुरु गर्ने विषयमा छलफल भइरहेको छ। संघीय, प्रदेश र स्थानीय तह तथा सरोकारवालाहरूसँगको परामर्शपछि मात्रै यसबारे ठोस निर्णय लिइनेछ।
तर, विद्यालय जान सुरु गर्नुअघि विद्यार्थी, अभिभावक र शिक्षकहरूले भोगिरहेको गहिरो मानसिक आघात (ट्रमा) लाई सम्बोधन गर्नु सबैभन्दा ठूलो चुनौती बनेको छ। अधिकारीहरूका अनुसार पहिला उद्धार र उपचारको चरण सकिएपछि प्रभावितहरूलाई मनोसामाजिक परामर्श दिइनेछ र त्यसपछि मात्रै उनीहरूलाई क्रमशः शैक्षिक क्रियाकलापमा फर्काइनेछ।
आवश्यकता परेमा सिकाइमा कुनै सम्झौता नहुने गरी पाठ्यक्रममा समेत परिमार्जन गर्न सकिने मन्त्रालयको भनाइ छ। यस कठिन परिस्थितिमा संयुक्त राष्ट्रसंघीय निकायहरू र विभिन्न गैरसरकारी संघसंस्थाहरूले शैक्षिक सामग्री, पाल तथा बालबालिकाका लागि आवश्यक किटहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।













