नुवाकोट र रसुवामा एनसेलका अधिकांश टावर सञ्चालनमा, तीन स्थानमा मर्मतको काम बाँकी
काठमाडौँ । विपद्का कारण सञ्चार सम्पर्क विच्छेद भएका नुवाकोट र रसुवाका अधिकांश स्थानमा एनसेलको मोवाइल नेटवर्क फेरि सञ्चालनमा आएका छन्। प्राकृतिक प्रकोपका कारण बिग्रिएका र अवरुद्ध भएका टावरहरूलाई लगातारको प्रयासपछि सुचारु गरिएको हो।
हालै गएको विपद्का कारण यी क्षेत्रमा रहेका कुल २७ वटा टावरहरूमा समस्या उत्पन्न भएको थियो। प्राविधिकहरूको दिनरातको खटाईपछि आजसम्म २४ वटा टावरहरू पूर्ण रूपमा मर्मत गरी सञ्चालनमा ल्याइएको छ। नुवाकोट, रसुवा र धादिङमा एनसेलका कुल ७८ वटा टावरहरू रहेका छन्, जसमध्ये हाल ७५ वटा टावरहरू सुचारु अवस्थामा आएको कम्पनीले जनाएको छ ।
नुवाकोट जिल्लामा मात्रै प्रभावित भएका १६ वटावटै टावरहरूमा मोवाइल सेवा पुनः सञ्चालनमा आइसकेका छन्। कालिकास्थान, चौरटोल, चुली, बट्टार, विदुर, दुई पिपल, तारुका, मानेडाडा, खड्गभञ्ज्याङ, महामण्डल, गुजेटार, देउराली, बट्टार बजार र पिपलटारलगायतका स्थानमा रहेका टावरहरू मर्मत भइसकेका छन्।
यसैगरी, धादिङको गल्छीस्थित खल्टे, सुनौला बजार र भूमिडाँडामा रहेका टावरहरू पनि सुचारु भएका छन्।
रसुवामा पनि नेटवर्क सञ्चालनमा ल्याउन युद्धस्तरमा काम भइरहेको छ। यसअनुसार त्यहाँका कालिकास्थान, धुन्चे, खल्चेत भञ्ज्याङ, गोगुङ्ग र गत्लाङमा रहेका पाँचवटा टावरहरू पुन:स्थापना गरिएका छन्। यी क्षेत्रमा नेटवर्क सञ्चालनमा आएसँगै स्थानीयहरूलाई आफ्ना आफन्तहरूसँग सम्पर्क स्थापित गर्न तथा उद्धार र राहत वितरणको काममा ठूलो सहयोग पुगेको छ।
विपद्का कारण पूर्ण रूपमा क्षति पुगेका बाँकी ३ वटा टावरहरूको मर्मतकार्य भने अहिले पनि जारी छ। तीमध्ये नुवाकोटको एक र रसुवाको टिमुरे (रसुवागढी) मा भौतिक पूर्वाधारमै ठूलो क्षति पुगेको आशङ्का गरिएको छ। यसैगरी, रसुवाकै अर्को एक स्थानमा टावर मर्मतका लागि आवश्यक उपकरणहरू हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने भएकाले त्यसको प्रक्रिया अघि बढाइएको छ।
ती स्थानहरूमा पनि छिट्टै सेवा सुचारु गराउने गरी प्राविधिक टोली खटिएको कम्पनीले जनाएको छ।













