स्ट्रेट अफ हर्मुजमा चर्कियो तनाव: इरान र अमेरिकाबिच पुनः सैन्य हमला
काठमाडाैं । करिब एक महिनाको शान्तिपछि सोमबार बिहान अमेरिका र इरानबिच पुनः दोहोरो आक्रमण भएको छ। यस घटनाले केही समयदेखि मत्थर हुँदै गएको क्षेत्रीय द्वन्द्वलाई फेरि भड्काउने जोखिम बढाएको छ।
अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा इरानले समुद्री बम (सी माइन्स) प्रहार गर्ने तयारी गरिरहेको दाबी गर्दै अमेरिकाले इरानी रकेट लन्चरहरूमा प्रहार गरेको हाे।
यता त्यसैको बदला स्वरूप इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई निशाना बनाउँदै मिसाइल हानेको छ।
विगत ६ महिनादेखि जारी यस द्वन्द्वमा दुवै देश विश्वव्यापी ऊर्जा आपूर्तिको दृष्टिकोणले अति संवेदनशील मानिने यो जलमार्गको नियन्त्रणका लागि आमनेसामने छन्।
इरानले व्यापारिक जहाजहरूमाथि नियमित आक्रमण गर्दै जलमार्गमा आफ्नो अधिकार रहेको दाबी गर्दै आएको छ भने अमेरिकाले आफ्ना सैन्य जहाजमार्फत घेराबन्दी गरेर जलमार्ग सुचारु राख्ने अडान लिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त जलमार्ग बममुक्त भइसकेको घोषणा गरेको केही दिनमै यो घटना भएको हो। यसले इरानमाथि सैन्य कारबाहीभन्दा आर्थिक दबाब बढाउने वासिङ्टनको हालैको रणनीतिमा फेरबदल आएको छ।
इरानको दक्षिणी तटीय क्षेत्र नजिकै रहेको लारक टापुमा इरानी सेनाले समुद्री मार्गमा बम प्रहार गर्ने तयारी गरिरहेका बेला दुईवटा इरानी रकेट लन्चरलाई ध्वस्त पारिएको अमेरिकी सेन्ट्रल कमान्डले जनाएकाे छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकी कदमलाई ट्रम्प प्रशासनको “रणनीतिक र घातक गल्ती” भन्दै कडा बदला लिने चेतावनी दिएको थियो।
लगत्तै आईआरजीसीले जोर्डनमा रहेका दुई अमेरिकी एयर बेसमा मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेकाे छ।
यद्यपि, जोर्डनको सशस्त्र प्रहरी बलले आफ्नो आकाशमा प्रवेश गरेका आठ वटा मिसाइललाई वायु रक्षा प्रणालीमार्फत आकाशमै ध्वस्त पारिदिएको जनाएको छ ।
स्टेर्ट अफ हर्मुज सफा गरिसकिएको दाबी गर्दै राष्ट्रपति ट्रम्पले गत हप्ता नै नयाँ बम राख्ने जुनसुकै इरानी डुङ्गालाई तत्काल नष्ट गरिने चेतावनी दिइसकेका थिए।
युद्ध सुरु भएको ६ महिना बितिसक्दा पनि दुई देशबिचको प्रत्यक्ष वार्ता ठप्प छ। ह्वाइट हाउसले हाल कुनै वार्ता नभइरहेको पुष्टि गरेको छ। यद्यपि, इरान र ओमानबिच भने ओमान र कतारको मध्यस्थतामा समुद्री यातायात खुलाउने विषयमा छलफल जारी छ।
यो आक्रमण जुलाई २९ यता इरानमाथि भएको पहिलो अमेरिकी प्रहार हो। ट्रम्पले हालैका हप्ताहरूमा इरानसँग प्रत्यक्ष युद्धभन्दा आर्थिक रूपमा थकाउने नीति लिएका छन्। अमेरिकी अर्थ मन्त्रालयले इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने देशहरूमाथि थप कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।
सैन्य तनाव पुन: बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ। बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य २.८ प्रतिशतले बढेर प्रति ब्यारेल ९०.५७ डलर र अमेरिकी क्रुड २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ८५.६४ डलर पुगेको छ।










