अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २० अर्ब तरलता प्रशोचन गर्दै
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज २० अर्ब रुपैयाँ बराबरको तरलता संकलन प्रशोचन गर्दैछ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ८६ दिने अवधिको ३ महिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार आज भदौ १५ गते दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ। निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण गरिनेछ। साँवा तथा ब्याज भुक्तानी मिति २०८३ मंसिर ९ गते तोकिएको छ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र १० करोड रुपैयाँले भाग जाने गरी अधिकतम आह्वान रकम अर्थात् २० अर्ब रुपैयाँसम्म बोल गर्न सकिनेछ।
निक्षेप संकलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। सहभागी बैंक तथा वित्तीय संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोल गर्न सक्ने व्यवस्था छ।
राष्ट्र बैंकले बोलपत्र बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिने जनाएको छ। समान ब्याजदरमा प्राप्त बोल रकम कुल निष्काशित रकमभन्दा बढी भएमा अनुपातका आधारमा बाँडफाँड गरिनेछ।
राष्ट्र बैंकले आह्वान गरिएको रकमको सम्पूर्ण वा आंशिक बोल स्वीकार वा अस्वीकार गर्न सक्ने अधिकार मौद्रिक व्यवस्थापन विभाग तथा खुला बजार कारोबार सञ्चालन समितिमा रहने जनाएको छ।
निक्षेप संकलन गरिएको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकिएको भुक्तानी मितिअघि फिर्ता लिन वा पुनर्भुक्तानी गराउन नपाउने व्यवस्था छ। भुक्तानीको दिन निर्धारित ब्याजसहित रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ।
बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढेपछि राष्ट्र बैंकले निक्षेप संकलनमार्फत बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्दै आइरहेको छ।










