अत्यावश्यक भए मात्रै हेलिकप्टर माग्न प्राधिकरणको आग्रह, यी वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव
काठमाडौं। बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टरको माग बढ्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वास्तविक जोखिममा परेका नागरिकको उद्धारलाई प्राथमिकता दिन आग्रह गरेको छ।
प्राधिकरणले अत्यावश्यक अवस्था नरहेका व्यक्तिले हेलिकप्टर उद्धारको माग नगर्न अनुरोध गरेको हो। केही वैकल्पिक सडक सञ्चालनमा आइसकेकाले सुरक्षित रूपमा स्थलमार्गबाट यात्रा गर्न सक्ने नागरिकले उपलब्ध सडक प्रयोग गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट हेलिकप्टरमार्फत २५२ विदेशी नागरिकसहित ३ हजार ५९६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ३४४ जना नेपाली रहेका छन्।
तर पछिल्लो समय तुलनात्मक रूपमा कम प्रभावित क्षेत्रमा रहेका, सुरक्षित अवस्थामा रहेका वा अग्लो स्थानमा पुगेका व्यक्तिहरूबाट समेत हेलिकप्टरमार्फत उद्धारको माग आउन थालेको प्राधिकरणले जनाएको छ।
सीमित हवाई साधनलाई गम्भीर जोखिममा रहेका नागरिकको खोज तथा उद्धार, दुर्गम क्षेत्रमा उद्धार टोली परिचालन र अत्यावश्यक राहत सामग्री पुर्याउने काममा केन्द्रित गर्नुपर्ने भएकाले अनावश्यक हेलिकप्टर माग नगर्न प्राधिकरणले आग्रह गरेको हो।
प्राधिकरणका प्रवक्ता एवं उपसचिव शान्ति महतले जारी गरेको सूचनामा उपलब्ध स्रोत तथा साधनलाई अत्यावश्यक काममा मात्र परिचालन गर्न सहयोग पुर्याउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
गम्भीर जोखिममा रहेकालाई हेलिकप्टरबाट प्राथमिकता
प्राधिकरणले हेलिकप्टर उद्धारको प्राथमिकतामा गम्भीर जोखिममा रहेका नागरिकलाई राख्नुपर्ने जनाएको छ। त्यस्तै, दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा खोज तथा उद्धार टोली पुर्याउन र तत्काल आवश्यक राहत सामग्री ढुवानी गर्न हवाई साधन प्रयोग गरिने जनाएको छ।
सडकमार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न सकिने अवस्थामा हेलिकप्टरको माग गर्दा सीमित हवाई स्रोतमा थप दबाब पर्ने भएकाले नागरिकले परिस्थितिको मूल्यांकन गरेर मात्र उद्धारको अनुरोध गर्नुपर्ने प्राधिकरणको भनाइ छ।
धादिङका लागि वैकल्पिक सडक सञ्चालन
मुख्य सडकमार्गमा समस्या आएपछि धादिङतर्फ जाने यात्रुका लागि वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। प्राधिकरणका अनुसार धादिङबेसी–परैवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्तारमा पृथ्वी राजमार्ग जोडिने सडक वैकल्पिक मार्गका रूपमा सञ्चालनमा आएको हो।
यस मार्गबाट मुख्य सडकमा देखिएको अवरोधका कारण प्रभावित यात्रुले आफ्नो गन्तव्यतर्फ आवतजावत गर्न सक्नेछन्।
रसुवातर्फ पनि वैकल्पिक सडक सञ्चालनमा
रसुवातर्फ पनि अर्को वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। विदुर–ढिकुरे–चौघडा–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे जोड्ने सडक सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ।
हाल उक्त सडकमा साना चारपांग्रे सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था रहेको बताइएको छ।
बढी प्रभावित क्षेत्र
प्राधिकरणले रसुवाका उत्तरगया, गोसाईकुण्ड, आमाछोदिङ्मो र कालिका क्षेत्रलाई बढी प्रभावित क्षेत्रमा राखेको छ।
त्यस्तै, नुवाकोटका तारकेश्वर, किस्पाङ, विदुर र बेलकोटगढी तथा धादिङका गल्छी, गजुरी, बेनिघाट रोराङ र सिद्धलेक क्षेत्र पनि प्रभावित सूचीमा छन्। गोरखा र तनहुँका विभिन्न वडाहरूलाई समेत प्रभावित क्षेत्रभित्र समेटिएको प्राधिकरणले जनाएको छ।
विपद्का कारण आवतजावत कठिन बनेको अवस्थामा अनावश्यक यात्रा नगर्न र सम्भव भएसम्म सञ्चालनमा आएका वैकल्पिक सडक प्रयोग गर्न प्राधिकरणले नागरिकलाई सुझाव दिएको छ।
प्राधिकरणले विशेषगरी जीवन जोखिममा परेको वास्तविक आपतकालीन अवस्थामा मात्र हेलिकप्टर उद्धारको माग गर्न आग्रह गरेको छ।विपद्सम्बन्धी थप जानकारी तथा उद्धार र राहतका लागि समन्वय गर्न प्राधिकरणको टोल फ्री नम्बर ११४९ मा सम्पर्क गर्न सकिनेछ।











