१५ भदौ २०८३, सोमबार

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्दा कोही फेला परेनन्, उद्धार टोली फर्कियो



काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको हुन सक्ने आशंकामा सञ्चालन गरिएको खोजी अभियानमा कोही पनि फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली धुन्चे फर्किएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सुरुङको भित्री भागमा नेपाली सेनाको टोली इन्जिनियर र ड्रोन उपकरणसहित प्रवेश गरेको थियो। टोलीले सुरुङको अन्तिम बिन्दुसम्म पुगेर सम्भावित जोखिम र संरचनाको निरीक्षण गर्दै खोजी गरेको थियो।

भोटेकोशी नदीमा आएको बाढीपछि आयोजनाको सुरुङमा मानिस फसेको हुन सक्ने सूचना आएपछि सुरक्षा निकायले सावधानीपूर्वक उद्धार तथा खोजी अभियान अघि बढाएको थियो। सुरुङभित्रको अवस्थाबारे यकिन गर्न ड्रोनसहित प्राविधिक उपकरण प्रयोग गरिएको थियो।

तर सुरुङको भित्री भागदेखि अन्तिम बिन्दुसम्म विस्तृत रूपमा खोजी गर्दा समेत कुनै व्यक्ति फेला नपरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

खोजीका क्रममा सुरुङभित्र मानिस नरहेको निष्कर्षमा पुगेपछि नेपाली सेनाको टोली आयोजनास्थलबाट रसुवाको धुन्चे फर्किएको हो।

भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजना, सुरुङ तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि ती क्षेत्रमा मानिस फसेको हुन सक्ने आशंकामा सुरक्षा निकायले खोजी र उद्धारलाई तीव्रता दिँदै आएका छन्।

सम्भावित जोखिममा रहेका व्यक्तिको अवस्थाबारे जानकारी संकलन तथा उद्धारका लागि सुरक्षा निकायले प्रभावित क्षेत्रहरूमा निगरानी र खोजी अभियान जारी राखेका छन्।