१५ भदौ २०८३, सोमबार

नक्कली क्यूआरबाट ठगीको जोखिम : बाढी पीडितलाई सहयोग गर्दा सचेत हुन राष्ट्र बैंकको आग्रह



काठमाडौं। भदौ १० गते रसुवामा आएको बाढी पछि अहिले देश नै स्तब्ध छ। यस्तो समयमा पनि केही अमानवीय तत्वहरु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर राख्दै अनेक जुक्ति लगाएर ठगी गर्न तम्सिएका विवरणहरु प्राप्त भएका छन् ।

उक्त घटनाका विवरणहरु पश्चात विपद्को समयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने नाममा नक्कली बैंक खाता तथा क्यूआर कोड प्रयोग गरेर ठगी हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत गराएको छ।

खाताको नाम र विवरण आधिकारिक स्रोतबाट पुष्टि गर्न आग्रह

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको सूचनामा कोषको नाम दुरुपयोग गरी अनधिकृत रूपमा रकम संकलन गर्ने तथा ठगी गर्ने प्रयासका घटना सार्वजनिक भएको उल्लेख गरिएको छ। त्यसैले सहयोग रकम पठाउनुअघि बैंक खाता र भुक्तानी विवरण आधिकारिक भए–नभएको जाँच गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

मोबाइल बैंकिङ, डिजिटल वालेट, कनेक्ट आईपीएस वा अन्य विद्युतीय माध्यमबाट रकम पठाउँदा खाताको नाम ‘प्राइम मिनिस्टर डिजास्टर रिलिफ फन्ड’ रहेको सुनिश्चित गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। साथै, रकम पठाउनुअघि आफूले योगदान गर्न चाहेको रकम सही छ कि छैन भन्ने कुरा पनि पुन: जाँच गर्न आग्रह गरिएको छ।

कोषको बैंक खाता नम्बर तथा अन्य विवरण सामाजिक सञ्जाल, इमेल वा अपरिचित व्यक्तिबाट प्राप्त सूचनाका आधारमा प्रयोग नगर्न राष्ट्र बैंकले सुझाव दिएको छ। आधिकारिक खाता विवरणका लागि नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयका वेबसाइटमा प्रकाशित सूचनालाई मात्र आधार बनाउन भनिएको छ।

सामाजिक सञ्जाल, इमेल तथा विभिन्न मेसेजिङ एपमार्फत पठाइएका अनधिकृत क्यूआर कोड स्क्यान नगर्न पनि राष्ट्र बैंकले चेतावनी दिएको छ। सहयोग रकम पठाउन सहजीकरण गर्ने भन्दै कसैले ओटीपी, पिन, पासवर्ड वा अन्य संवेदनशील व्यक्तिगत विवरण मागेमा त्यस्ता जानकारी नदिन आग्रह गरिएको छ।

रकम पठाउँदा आधिकारिक एप्लिकेसन तथा विश्वसनीय भुक्तानी माध्यम प्रयोग गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।

ठगीमा परे के गर्ने ?

आफू ठगीमा परेको वा ठगीको प्रयास भएको आशंका भएमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई जानकारी गराउन सकिने राष्ट्र बैंकले जनाएको छ। साथै, नेपाल प्रहरीको साइबर ब्युरो वा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाईमा समेत जानकारी गराउन सकिनेछ।

विपद्को समयमा नागरिकले सहयोगका रूपमा पठाएको रकम गलत व्यक्ति वा संस्थाको हातमा नपरोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो सावधानी अपनाउन आग्रह गरेको हो।