‘विप्लव’ले वाणिज्य बैंकका २६ कर्मचारी बेपत्ता, ५५ करोड क्षति
काठमाडौँ । भोटेकोशी (त्रिशूली) नदीमा आएको विप्लवका कारण विभिन्न वाणिज्य बैंकहरुका २६ जना कर्मचारीहरु बेपत्ता भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
यसमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ जना कर्मचारी बेपत्ता भएका छन् । माछापुच्छ्रे बैंकका ५, प्रभू बैक र एनएमबी बैंकका ४–४, सानिमा र लक्ष्मी सनराइज बैंकका २–२ तथा ग्लोबल आईएमई र हिमालयन बैंककम १–१ कर्मचारी बेपत्ता छन् ।
नेपाल बैंकर्स संघको प्रारम्भिक आँकडा अनुसार यस महाविपत्तीको प्रभावित क्षेत्रमा १२ वटा वाणिज्य बैंकले १७ शाखा सञ्चालन गरेका थिए ।
कृषि विकास बैंकले त्रिशुलीमा, सिटिजन्सले देवीघाटमा, ग्लोबल आईएमईले टिमुरेमा, हिमालयनले बेत्रावतीमा र सानिमा तथा एनएमबी बैंकले टिमुरेमा सञ्चालन गरेका शाखाहरु पूर्ण रुपमा ध्वस्त भएका छन् ।
प्रभू बैंकका टिमुरे र स्याफ्रुबेशीका शाखाहरु पनि पूर्ण रुपमा क्षति पुगेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको टिमुरे शाखामा आंशिक क्षति भए पनि उसको मैलुङ एक्सटेन्सन काउण्टर ध्वस्त भएको छ । स्याफ्रुबेशीको शाखामा त पुरै क्षति पुगेको छ ।
एनआईसी एसियाका पनि त्रिशूली, स्याफ्रुबेशी र बेत्रावतीका शाखाहरु पूर्ण रुपमा क्षति पुगेको बैंकर्स संघले बताएको छ । लक्ष्मी सनराइज, माछापुच्छ्रे र नबिल बैंकका टिमुरेस्थित शाखाहरु पनि पूर्ण क्षति भएका छन् ।
यसरी १७ मध्ये ८ वटा शाखाहरु टिमुरेमै रहेका थिए । यी शाखा तथा एक्टेन्सन काउण्टरमा गरी कुल ११५ जना कार्यरत रहेकामा २६ बेपत्ता तथा ४ जना घाइते रहेको बैंकर्स संघले जनाएको छ ।
५५ करोडको क्षति
बैंकर्स संघले यस विप्लवबाट ५५ करोड ६८ लाख ७० हजार ५१७ रुपैयाँ क्षति भएको प्रारम्भिक आँकडा प्रस्तुत गरेको छ । यसबाहेक १७ करोड २४ लाख ५७ हजार रुपैयाँ ‘भल्ट’मा राखेको नगद पनि रहेको बैंकर्स संघले बताएको छ ।
प्रभावित क्षेत्रमा ९ वटा एटीएम बूथ रहेको र त्यसमा यो प्रकोप आउनुअघि १ करोड १६ लाख ६३ हजार रुपैयाँ नगद रहेको बैंकर्स संघको आँकडा छ । यसमध्ये कृषि विकास बैंकको एटीएम क्षतिग्रस्त अवस्थामा उपलब्ध छ भने अरु एटीएम बूथहरु भेटिएको छैन ।
बैंकहरुका यी शाखामा कुल ७८ हजार २०४ निक्षेप खाता र २१२५ वटा कर्जा खाता सक्रीय रहेको बैंकर्स संघले जनाएको छ । जस अनुसार ४ अर्ब ४३ करोड १८ लाखभन्दा बढी निक्षेप र २ अर्ब ४२ करोड ८० लाखभन्दा बढी ऋण प्रवाह गरेको संघले जनाएको छ ।










