१६ भदौ २०८३, मंगलबार

बाढी प्रभावित हाइड्रोको शेयर कारोबारमा निगरानी राख्न सेबोनको निर्देशन



काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पछिल्लो समय आएको बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित हुन सक्ने सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबारलाई नजिकबाट निगरानी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

त्रिशूली र भोटेकोशी नदी आसपासका जलविद्युत आयोजना, प्रसारण लाइन तथा अन्य पूर्वाधारमा बाढीका कारण क्षति पुगेको अवस्थालाई ध्यानमा राख्दै बोर्डले लगानीकर्ताको हित सुरक्षित गर्न यस्तो कदम चालेको हो। साथै, बजारमा पारदर्शिता कायम राख्ने र अस्वाभाविक कारोबार हुन नदिने उद्देश्यसमेत रहेको बोर्डले जनाएको छ।

प्रभावित कम्पनीको विवरण सार्वजनिक गर्न निर्देशन

सेबोनले प्राकृतिक विपद्को प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावमा परेका सूचीकृत कम्पनीहरूको विवरण तत्काल संकलन गरी व्यवस्थित सूची तयार गर्न भनेको छ। त्यस्ता कम्पनीका आयोजना, सम्पत्ति, उत्पादन, वित्तीय अवस्था र समग्र व्यवसायमा परेको प्रभावबारे जानकारी संकलन गरी आधिकारिक सूचना प्रणाली तथा कम्पनीका सञ्चार माध्यमबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।

बोर्डका अनुसार प्रभावित कम्पनीहरूले आयोजना कहाँ र कुन अवस्थामा प्रभावित भयो भन्ने विवरणसँगै विपद् भएको मिति र घटनाको प्रकृति खुलाउनुपर्नेछ। प्रारम्भिक भौतिक क्षति, विद्युत् उत्पादनमा आएको कमी, प्रभावित उत्पादन क्षमता तथा प्रसारण र वितरण संरचनामा परेको असरसम्बन्धी जानकारी पनि सार्वजनिक गर्नुपर्नेछ। मानवीय क्षति भएको भए त्यसको विवरणसमेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, सम्बन्धित आयोजना बीमाको दायरामा छ कि छैन, बीमा कम्पनीमा क्षतिपूर्तिका लागि दाबी गरिएको छ वा छैन भन्ने विषय पनि सार्वजनिक गर्नुपर्नेछ। प्रारम्भिक वित्तीय क्षति, आयोजना पुनः सञ्चालनमा आउन सक्ने सम्भावित समय, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणमा पर्न सक्ने असर र ऋण भुक्तानी क्षमताबारे सम्भावित प्रभावसमेत जानकारी गराउनुपर्ने बोर्डले जनाएको छ।

असामान्य कारोबारमाथि निरन्तर निगरानी

विपद्बाट प्रभावित कम्पनीको शेयर कारोबारमा विशेष निगरानी राख्दै अस्वाभाविक मूल्य उतारचढाव, कारोबारको असामान्य मात्रा, शंकास्पद खरिद–बिक्री आदेश तथा महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि भएका असामान्य कारोबारलाई प्राथमिकताका साथ अनुगमन गर्न पनि बोर्डले निर्देशन दिएको छ।

बजारको निष्पक्षता र पारदर्शितामा असर पार्न सक्ने अन्य गतिविधिमाथि समेत निगरानी बढाउन भनिएको छ। प्राकृतिक विपद् मात्र नभई दुर्घटना, आगलागी, भूकम्पजस्ता आकस्मिक घटनाले सूचीकृत कम्पनीमा पार्न सक्ने तत्कालीन र दीर्घकालीन प्रभावलाई सम्बोधन गर्ने गरी सूचना प्रकाशन, कारोबार रोक्का तथा पुनः कारोबार सञ्चालनका लागि आवश्यक कार्यविधि बनाउनसमेत बोर्डले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

यस विषयमा भएका कामको प्रगति र धितोपत्र बजारमा देखिएका असामान्य गतिविधिबारे नियमित रूपमा बोर्डलाई जानकारी गराउनसमेत सम्बन्धित निकायलाई भनिएको छ।