१६ भदौ २०८३, मंगलबार

मुस्ताङमा स्याउ टिप्ने चटारो, बजारमा पुग्न थाल्यो हिमालपारिको स्वाद



काठमाडाैँ । हिमालपारिको जिल्ला मुस्ताङका बगैँचामा अहिले स्वाद र सुगन्धले भरिपूर्ण स्याउ टिप्ने चटारो सुरु भएको छ। जिल्लाका सरोकारवाला निकायले तय गरेको औपचारिक कार्यतालिका अनुसार किसानहरूले बगैँचाबाट छिटो पाक्ने जातका स्याउहरू टिप्न थालेका हुन्।

यस वर्षको हरितालिका तीज पर्वलाई लक्षित गरेर बजारमा ताजा स्याउ पुर्‍याउने गरी कृषक र व्यापारीहरू अहिले बगैँचामै व्यस्त देखिएका छन्।

मुस्ताङमा उत्पादित स्याउको गुणस्तर कायम राख्न र बजारको मागलाई व्यवस्थित गर्न स्थानीय प्रशासन, जनप्रतिनिधि र कृषिसम्बद्ध निकायले आपसी सहमतिमा स्याउ टिपाइको मिति तोकेका थिए। सोही निर्णयअनुसार यही भदौ १५ गतेदेखि छिटो पाक्ने र आगामी भदौ २२ गतेदेखि ढिलो पाक्ने जातका स्याउ टिप्न पाइने कार्यतालिका कार्यान्वयनमा ल्याइएको छ।

यसले मुस्ताङी स्याउको ख्याति र बजार भाउलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको कृषकहरू बताउँछन्।

कृषि तथा पशु विकास कार्यालयका अनुसार अहिले मुस्ताङका थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा छिटो पाक्ने अर्ली भेराइटिजअन्तर्गत पर्ने गाला र गोल्डेन जातका स्याउ टिप्ने काम भइरहेको छ। विशेष गरी उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेती गरेका बगैँचामा अहिले पोस्ट हार्भेस्टको काम तीव्र पारिएको छ। किसानको बगैँचामा उत्पादित सुस्वालो र रसिलो स्याउ टिपेर बजारसम्म पुर्‍याउने क्रमले गति लिएको छ।

स्थानीय किसानका बगैँचामा अहिले स्याउ टिप्ने, क्रेटमा राख्ने, ग्रेडिङ गर्ने, नापतौल गर्ने र प्याकेजिङ गरेर गाडीमा लोड गर्ने काममा दर्जनौँ कामदारहरू खटिएका छन्। केही स्थानमा ४० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको हाइब्रिड स्याउ टिपेर दुई दिनभित्रै राजधानी काठमाडौँलगायतका बजारमा पुर्‍याउने योजना बनाइएको छ।

यद्यपि, केही स्थानमा सडक सञ्जालमा आएको अवरोधका कारण टिपाइ केही दिन पछाडि धकेलिएको भए पनि समग्रमा मुस्ताङी स्याउ बजारमा भित्रिने क्रम सुरु भइसकेको छ।

स्याउको यो सिजन सुरु भएपछि मुस्ताङका गाउँवस्तीमा व्यापारीहरूको चहलपहल बाक्लो बनेको छ। धेरैजसो व्यापारीले त सिजन सुरु हुनुभन्दा अगाडि नै बगैँचामै पुगेर बैनापट्टा गरिसकेका छन्। गत वर्ष मुस्ताङमा करिब ९० करोड रुपैयाँभन्दा बढीको स्याउ उत्पादन भएको थियो, जसमध्ये ठुलो हिस्सा जिल्लाबाहिर निकासी भएको थियो।

पछिल्लो समय यहाँका किसानहरूले परम्परागत खेती छाडेर छिटो र धेरै उत्पादन दिने उच्चघनत्व प्रविधिको हाइब्रिड स्याउखेतीतर्फ आकर्षण बढाउँदै लगेका छन्।