१७ भदौ २०८३, बुधबार

टाटाको बिक्रीमा उछाल : एक महिनामै ६७ हजार कार बेच्यो, ईभीतर्फ नयाँ रेकर्ड



काठमाडौं। भारतीय अटोमोबाइल बजारमा टाटा मोटर्सको यात्रुवाहक कार बिक्रीले अगस्टमा उल्लेखनीय वृद्धि हासिल गरेको छ। कम्पनीले २०२६ अगस्टमा भारत तथा अन्तर्राष्ट्रिय बजारमा गरी ६७ हजार ७५३ युनिट प्यासेन्जर कार बिक्री गरेको हो।

कम्पनीको यो बिक्री गत वर्ष सन् २०२५ को अगस्टको तुलनामा ५६.४२ प्रतिशतले बढी हो। टाटा मोटर्सले २०२५ अगस्टमा कुल ४३ हजार ३१५ युनिट प्यासेन्जर कार मात्र बिक्री गरेको थियो। अर्थात्, यस वर्षको अगस्टमा कम्पनीले गत वर्षको सोही महिनाभन्दा २४ हजार ४३८ युनिट बढी कार बिक्री गर्न सफल भएको छ।

कम्पनीको बिक्रीमा भएको वृद्धि मुख्य रूपमा भारतीय बजारबाटै आएको देखिन्छ। टाटाले अगस्टमा भारतमा मात्रै ६५ हजार २५३ युनिट प्यासेन्जर कार बिक्री गरेको छ। यो गत वर्षको अगस्टमा बिक्री भएको ४१ हजार १ युनिटको तुलनामा ५९.१५ प्रतिशत बढी हो।

यता, अन्तर्राष्ट्रिय बजारमा पनि टाटाको बिक्री बढेको छ। कम्पनीले अगस्टमा २ हजार ५०० युनिट कार निर्यात गरेको छ। गत वर्षको सोही महिनामा कम्पनीले २ हजार ३१४ युनिट कार निर्यात गरेको थियो। यस आधारमा टाटाको अन्य देशमा निर्यात ८.०४ प्रतिशतले बढेको हो।

टाटा मोटर्सको ईभी बिक्रीमा नयाँ रेकर्ड

टाटा मोटर्सको अगस्ट महिनाको बिक्रीमा सबैभन्दा उल्लेखनीय वृद्धि विद्युतीय सवारीसाधन (ईभी)तर्फ देखिएको छ। कम्पनीको ईभी बिक्री १६ हजार ५ सय ४९ युनिट पुगेको छ, जुन एकै महिनामा टाटाले हासिल गरेको हालसम्मकै उच्च ईभी बिक्री हो।

गत वर्ष अगस्टमा टाटाको ईभी बिक्री ८ हजार ५ सय ४० युनिट थियो। यस वर्षको बिक्री त्यसको तुलनामा ९३.७८ प्रतिशतले बढी हो। यससँगै कम्पनीले लगातार दोस्रो महिना १५ हजारभन्दा बढी ईभी बिक्री गरेको छ।

ईभी पोर्टफोलियो विस्तार गर्दै टाटा

टाटाको ईभी बिक्रीमा भएको तीव्र वृद्धिसँगै कम्पनीले भारतीय विद्युतीय कार बजारमा आफ्नो पकड थप बलियो बनाउँदै गएको देखिन्छ। पछिल्लो समय कम्पनीले आफ्नो ईभी पोर्टफोलियो विस्तार गर्दै विभिन्न नयाँ तथा अपडेटेड मोडल बजारमा ल्याइरहेको छ।

टाटाले जनवरीमा पन्च ईभी फेसलिफ्ट, जुनमा सियरा ईभी तथा अगस्टमा टियागो ईभी फेसलिफ्ट बजारमा ल्याएको थियो। यसबाहेक कम्पनीको ईभी लाइनअपमा टिगोर, नेक्सन, कर्भ र ह्यारियर ईभी लगायतका मोडल उपलब्ध छन्।

नयाँ मोडल तथा अपडेटेड संस्करणको विस्तारसँगै टाटाले विद्युतीय सवारीसाधन बजारमा बिक्री र उपस्थितिलाई निरन्तर विस्तार गरिरहेको छ।