१७ भदौ २०८३, बुधबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफको ५१ लाख सहयोग



काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष संझना अर्याल, सञ्चालकहरू विरेन्द्र जंग पाण्डे र शम्सेर पराजुली तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे।

गएको भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारले गरिरहेको प्रयासमा सघाउन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

बाढी र डुबानका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। बेपत्ता नागरिकहरूको शीघ्र खोजी, घाइतेहरूको उपचार तथा विस्थापितहरूको पुनर्स्थापना कार्यमा यो सहयोगले टेवा पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।