सडक भासिएपछि नागढुंगा सुरुङमार्ग खुला
काठमाडौं। नागढुङ्गा नजिकै पातले वनमा सडक भासिएर आवागमन प्रभावित भएपछि काठमाडौँबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनका लागि नागढुङ्गा सुरुङमार्ग खुला गरिएको छ।
पेट्रोलियम पदार्थ बोकेका सवारी साधन र दुई पाङ्ग्रे (मोटरसाइकल) बाहेक अन्य सबै सवारी साधनहरूलाई सुरुङमार्ग भएर जान खुला गरिएको सडक विभागले जनाएको हो। पेट्रोलियम पदार्थ बोकेका बुलेट तथा ट्याङ्कर र दुई पाङ्ग्रे सवारी साधनहरूलाई भने पातले वनस्थित भासिएको सडकबाटै एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको छ।
भासिएको सडकको अवस्थाबारे प्राविधिक अध्ययन गरिएपछि मात्रै मर्मत प्रक्रिया अघि बढाइने विभागको भनाइ छ। प्राविधिक मूल्यांकनपछि आवश्यक मर्मतसम्भार सकेर सडकलाई नियमित रूपमा पूर्ण सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको जनाइएको छ।
गत साउन ११ गतेमात्रै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको थियो।










