दोहोरो अंकको वृद्धिसहित उकालो यात्रामा नेप्से, कारोबार रकम ३ अर्ब नजिक
काठमाडौं। बुधबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। नेप्से १५.४४ अंकले वृद्धि हुँदै २,५३८.११ विन्दुमा पुगेको हो। आज सेन्सेटिभ इण्डेक्स पनि ३.०२ अंकले बढेको छ। त्यस्तै, फ्लोट इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंकले उकालो लागेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ। अघिल्लो दिन २ अर्ब ९० करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा यस दिन ३५४ वटा स्टकको ३९ हजार ६७३ पटक कारोबार भएको छ।
दिनभरमा ७२ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँ पुगेको छ।
यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै ११.८७ प्रतिशतले बढेको छ। माथिल्लो मैलुङ्ग खोला जलविद्युत र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि १० प्रतिशतभन्दा बढी वृद्धि भएको छ।
कारोबार रकमका आधारमा सानिमा मिडिल तमोर हाइड्रोपावर अगाडि रहेको छ। कम्पनीको १४ करोड १७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ।
११ वटा उपसमूहको परिसूचक बढ्यो
१३ उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक बढेको छ भने दुईवटा उपसमूह घटेका छन्। जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.९५ प्रतिशतले बढेको छ। म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहका परिसूचक भने सामान्य अंकले घटेका छन्।
समग्रमा, बजार परिसूचकमा दोहोरो अंकको वृद्धि हुनुका साथै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यससँगै नेप्से २,५३८.११ विन्दुमा पुगेर सकारात्मक अवस्थामा कारोबार बन्द भएको छ।









