बाढीपीडितका लागि वनस्पति घ्यू तेल उत्पादक संघद्वारा १ करोड १ लाख सहयोग
काठमाडौं। रसुवामा हालै आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उपचार तथा पुन:स्थापनाका लागि नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ तथा संघमा आबद्ध सदस्य उद्योगहरूले प्रधानमन्त्री राहत कोषमा रु. १ करोड १ लाख सहयोग गर्ने निर्णय गरेका छन्।
संघका अनुसार चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, पूर्वी नवलपरासीलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीका कारण नागरिकको मृत्यु तथा बेपत्ता हुनुका साथै धेरै घाइते भएका र निजी घर–सम्पत्ति तथा सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुगेको संघले जनाएको छ।
संघले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकारलाई शीघ्र कदम चाल्न आग्रह गरेको छ। प्रभावित क्षेत्रको दीर्घकालीन पुन:स्थापना तथा पूर्वाधार पुनर्निर्माणका लागि समेत विशेष प्राथमिकता र सतर्कता आवश्यक रहेको संघको भनाइ छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय एकता, सामाजिक सहकार्य र मानवीय भावनाका साथ सहयोग गर्ने निर्णय गरिएको संघले जनाएको छ। संघका अनुसार उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ।
संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, नेपाल सरकार तथा सम्बन्धित सबै पक्षको समन्वय, संवेदनशीलता र प्रभावकारी पहलबाट मात्र प्रभावित नागरिकको पुन:स्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणले गति लिन सक्ने संघले जनाएको छ।












