बाढी प्रभावित क्षेत्रहरुमा नेपाल टेलिकमको नेटवर्क सेवा पुन: सुचारु
काठमाडौँ। नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाहरुमा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानहरुमा पूर्ण रुपमा नेटवर्क पहुँच कायम गरेको छ । गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा नेपाल टेलिकमका टावरहरुबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।
नेपाल टेलिकमका प्राविधिकहरु निरन्तर रुपमा वाढी प्रभावित क्षेत्र तथा विपद् प्रतिकार्य कक्ष मार्फत सेवा पुन: सुचारु कार्यमा खटिए पश्चात साइट सुचारु भएका हुन् । सो कार्यका लागि बाढीले सडक तथा विद्युत अवरुद्ध भएका स्थानहरुमा सुरक्षा निकायको समन्वयमा हेलिकप्टर मार्फत प्राविधकहरुसहित सामान, उपकरण, जेनेरेटर तथा इन्धन ढुवानी गराई सेवा सुचारु गरिएको थियो ।
भदौ १४ गते नेपाल–चीन सिमाना नजिक रहेको कम्पनीको रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा आएसँगै वाढी प्रभावित क्षेत्रमा सञ्चालित राहत र उद्धार कार्य सञ्चालन भएका सबै स्थानहरुमा सञ्चार सेवाको पहुँच पुगेको थियो।
बाढीका कारण नेपाल टेलिकमका रसुवा, नुवाकोट र धादिङ जिल्लाका १२० साइटमार्फत सञ्चालित सेवा मध्ये ८३ साइटमार्फत सञ्चालित सेवाहरु अवरुद्ध भएका थिए भने तीनवटा साइटहरु टिमुरे, चिलिमे खोला र त्रिशूली ३‘बी’ साइट पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए ।
नेपाल टेलिकमले भदौ १६ गतेमा बाढीबाट प्रभावित धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सुचारु गरेसँगै नेपाल टेलिकमका सबै साइटहरु सुचारु भएका छन् तथा पूर्ण रुपमा क्षतिग्रस्त भएका साइटहरुबाट उपलब्ध सेवाहरु हाल अन्य साइटहरुबाट उपलब्ध गराइएका छन् ।
मोबाइल सेवाको थप प्रभावकारिताको लागि उक्त क्षतिग्रस्त साइटहरुलाई प्राथमिकतामा राखी पुन:निर्माण गरी सञ्चालनमा ल्याइने पनि टेलिकमले जनाएको छ । भदौ १० गते बाढी आएको जानकारी प्राप्त भए लगत्तै नेपाल टेलिकमका प्राविधिकहरु साइट सुचारु कार्यका लागि निरन्तर रुपमा खटिएका थिए। भदौ ११ गते रसुवा जिल्लाका न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकप्टरबाट जेनेरेटर, इन्धन तथा ब्याट्री लगायतका उपकरणहरु पठाई सेवा सुचारु गरिएको थियो ।
रसुवा जिल्ला सदरमुकाम धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको थियो । यसैगरी भदौ १२ गते रसुवाको गोलजुङ टावर (बाहुनडाँडा), नुवाकोटको गेर्खु, तुप्चे तथा टिमुरे माथिको डाँडामा अवस्थित टावरमा हेलिकप्टरबाट जेनेरेटर, पेट्रोल तथा प्राविधिकहरु खटाई सेवा सुचारु गरिएको थियो । नुवाकोट जिल्ला अन्तर्गतको मदनपुर, बट्टार, बिदुर बसपार्क तथा धादिङ जिल्ला अन्तर्गत बैरेनी ठमेल डाँडामा जेनेरेटर, इन्धन सहित कर्मचारीहरु परिचालन गरी सेवा सुचारु गरिएको थियो ।
भदौ १३ गते रसुवाको त्रिशूली ३‘ए’ सँगै रहेको टावर, रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थानमा रहेको टावर तथा नुवाकोट जिल्लाको बुङताङमा रहेको टावर समेत सञ्चालनमा ल्याइएको थियो । यी बाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर समेत सुचारु भएका थिए । यससँगै प्रभावित १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आएका थिए ।
भदौ १४ गते थप ७ स्थानमा सेवा सुचारु गरियो, जसमा रसुवा जिल्ला अन्तर्गत नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइट लगायत अपर सेन्जेन, छापथोके, जिबजिबे माइक्रो र गत्लाङ साइटहरु रहेका थिए । त्यसैगरी नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी साइट रहेका थिए। रसुवा बोर्डर बीटीएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुन: सञ्चालनमा आएका थिए। यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइटहरु सञ्चालनमा ल्याइएका थिए ।
भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सुचारु गरिएको थियो । प्रभावित क्षेत्रका मुख्य प्राथमिकता प्राप्त साइटहरु अनवरत रुपमा सञ्चालनमा ल्याउनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारीहरु परिचालन गरिएको थियो तथा हालसम्म पनि विद्युत आपूर्ति नियमित नभएका साइटहरु जेनेरेटर मार्फत सञ्चालनमा रहेका छन् ।
कतिपय स्थानका साइटहरु विद्युत सेवा आपूर्तिको सहजतासँगै स्वत: सञ्चालनमा आएका छन् र फोरजी सेवाको प्रभावकारिता समेत वृद्धि हुँदै गएको छ । यस कार्यमा नेपाल टेलिकमका कर्मचारीहरुसँग निरन्तर सहकार्य गर्दै सेवा सुचारू गर्न सहयोग र समन्वय गर्नुहुने तालुक मन्त्रालय, नेपाली सेना तथा समस्त सुरक्षा निकाय, नेपाल विद्युत प्राधिकरण, विद्युत गृह सञ्चालक, हेलिकप्टर सञ्चालक, स्थानीय निकाय, स्वयंसेवी संस्था, मोबाइल मर्मत सेवा प्रदायकका प्राविधिक, सञ्चार माध्यम तथा मोबाइल सेवासँग सम्बन्धित कम्पनीका सहयोगी निकायहरु सबैप्रति कम्पनीले हार्दिक आभार समेत प्रकट गरेको छ।
विपद्को घडिमा समेत आम जनसमुदायमा सञ्चार सेवाको सुनिश्चितता गरी ‘राष्ट्रको सञ्चार’ को गरिमा कायम गर्न कम्पनी सदा झै प्रतिबद्ध रहेको जनाइएको छ।










