पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानीबाहिरै ग्यास भरेर काठमाडौं पठाउन थालियो
काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास आपूर्ति गर्न वैकल्पिक व्यवस्था अपनाउन थालिएको छ। ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौं छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा भरेर लैजान थालिएको हो।
यसअन्तर्गत विभिन्न ग्यास उद्योगले अन्य जिल्लामा रहेका उद्योगसँग समन्वय गरी सिलिन्डर भरेर ट्रकमार्फत काठमाडौं पठाउन थालेका छन्।
विभिन्न उद्योगबाट ग्यास आपूर्ति
साल्ट ट्रेडिङ कर्पोरेसनको एसटीसी ग्यास वीरगन्जस्थित मनोज ग्यास उद्योगमा भरेर काठमाडौं पठाउन सुरु गरिएको छ।
बाबा ग्यासका सञ्चालक तथा नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीका अनुसार मंगलबार (भदौ १६) चितवनस्थित बाबा ग्यासले १ हजार ५ सय श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ।
धादिङको नौबिसेमा रहेको श्री ग्यासको प्लान्टमा बुलेट पुर्याउन समस्या भएपछि अन्य उद्योगमार्फत सिलिन्डर भर्ने व्यवस्था गरिएको हो। साइबाबा ग्यासले पनि आफ्ना ९ सय सिलिन्डर भरेर काठमाडौं पठाएको छ।
त्यस्तै, नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका लागि १ हजार २ सय सिलिन्डर भरेर पठाएको छ। गैँडाकोटको जानकीमा नौबिसेको श्रीराम, हेटौँडाको सहारामा काठमाडौंको एभरेस्ट र सुगमको ग्यास भरेर पठाइएको छ।
सञ्चालक कालाखेतीले भारतबाट नेपाल भित्रिने एलपी ग्यासको आपूर्तिमा कमी नआएको बताएका छन्। उनका अनुसार बुलेट काठमाडौं वा सम्बन्धित उद्योगसम्म पुर्याउन नसकिए पनि अन्य उद्योगमा ग्यास भरेर सिलिन्डरमार्फत उपत्यकामा ल्याउने व्यवस्था गरिएकाले बजारमा अभाव सिर्जना नहुने अवस्था छ।
उनका अनुसार गत महिना भारतबाट ६० हजार २ सय मेट्रिकटन एलपी ग्यास नेपाल भित्रिएको थियो। यो हालसम्मकै उच्च परिमाण रहेको उनको भनाइ छ।
ग्यास आयातको मात्रा पनि सोहीअनुसार कायम रहेकाले तत्काल आपूर्ति संकटको अवस्था नरहेको कालाखेतीले बताएका छन्।
१६ उद्योगले मिलेर गर्दैछन् आपूर्ति
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानीबाहिर रहेका उद्योगबाट ग्यास भरेर उपत्यकामा आपूर्ति गर्न अनुमति दिएको छ।
उपत्यका र आसपासका जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका उद्योगसँग समन्वय गरी सिलिन्डर भरेर काठमाडौं पठाउन थालेका छन्।
अध्यक्ष चन्दका अनुसार काठमाडौं उपत्यका र आसपासका जिल्लामा मात्रै देशभर खपत हुने एलपी ग्यासको करिब ४० प्रतिशत खपत हुने गर्छ। त्यसैले राजधानीमा नियमित आपूर्ति कायम राख्न वैकल्पिक माध्यमबाट ग्यास भित्र्याउने व्यवस्था गरिएको हो।
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उत्पन्न भएको ढुवानी समस्याका कारण ग्यासका बुलेटहरू नियमित रूपमा काठमाडौं ल्याउन नसकिए पनि उद्योगहरूबीचको समन्वयमार्फत सिलिन्डरमा ग्यास भरेर आपूर्ति जारी राखिएको छ।










