१९ भदौ २०८३, शुक्रबार

भोटेकोशी बाढीमा पौने ४ खर्ब बढीका भौतिक संरचना ध्वस्त, सुरुवाती पुनरुत्थानमै ५ करोड डलर खर्च हुने



काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा २.५६ बिलियन डलर अर्थात पाैने ४ खर्ब बढी रूपैयाँ बराबरकाे भाैतिक क्षति भएकाे प्रारम्भिक अनुमान गरिएकाे छ।

राेइटर्सले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उधृत गर्दै ३ खर्ब ८७ अर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति, घर तथा भौतिक संरचनामा क्षति पुगेको उल्लेख गरेकाे छ।

प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीका अनुसार प्रारम्भिक पुनरुत्थानको पहिलो चार महिनामा सडक तथा अस्थायी टहरा निर्माण, खानेपानी आपूर्ति र विद्युत् सेवा पुनर्स्थापना गर्न करिब ५ करोड २६ लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ।

विभिन्न सम्बन्धित निकाय र विभागहरूसँग समन्वय गरेर यो हिसाब निकालिएकाे र सको विस्तृत मूल्याङ्कन छिट्टै गरिने पनि प्राधिकरणले जनाएकाे छ।

बाढीबाट प्रभावित क्षेत्रहरूमा कम्तीमा २० हजार वटा घरहरू पुनःनिर्माण गर्नुपर्नेछ, जसमध्ये ७ हजार ५०० भन्दा बढी घरहरू पूर्ण रूपमा नष्ट भएकाे प्राधिकरणकाे तथ्यांक छ।

चीनसँगको सीमावर्ती क्षेत्रमा गत भदाै १० गते हिमनदी (ग्लेशियर) फुट्दा आएको बरफ, ढुङ्गा र गेग्रानसहितको बाढी त्रिशूली नदीमा मिसिन पुगेको थियो। यस बाढीले बस्ती र गाउँहरू बगाएको छ भने १ हजार २५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ४,२०० भन्दा बढी मानिस अझै बेपत्ता छन् यस्तै हजारौंकाे संख्यामा विस्थापित भएका छन्।