भोटेकोशी बाढीमा ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोड क्षतिको अनुमान
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन्। खानेपानी तथा ढल व्यवस्थापन विभागले गरेको प्रारम्भिक मूल्यांकनअनुसार बाढीबाट करिब ६४ करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।
नुवाकोटमा मात्रै २२ आयोजना क्षतिग्रस्त
विभागका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा २२ वटा खानेपानी आयोजना क्षतिग्रस्त भएका छन्। ती आयोजनामा मात्रै करिब ४ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार धादिङमा २०, रसुवामा ८ र गोरखामा ५ वटा आयोजना बाढीको चपेटामा परेका छन्। बाढीबाट भएको सम्पूर्ण क्षतिको विवरण संकलन गर्ने काम भने जारी रहेको विभागले जनाएको छ।
वैकल्पिक स्रोतबाट खानेपानी आपूर्ति गरिदै
बाढीका कारण सेवा अवरुद्ध भएका क्षेत्रमा तत्काल खानेपानी उपलब्ध गराउन विभागले वैकल्पिक उपाय अपनाएको छ। प्रभावित क्षेत्रमा पानीको वैकल्पिक स्रोत प्रयोग गर्नुका साथै क्षतिग्रस्त संरचना मर्मत गरी सेवा पुन: सञ्चालन गर्ने कामलाई प्राथमिकता दिइएको महानिर्देशक श्रेष्ठले बताए।
विशेषगरी विदुर खानेपानी आयोजना प्रभावित भएपछि पानी वितरणलाई सहज बनाउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ। उक्त जेनेरेटरको सहयोगमा दैनिक करिब ५ लाख लिटर खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ।
बट्टार क्षेत्रमा एक एचपी क्षमताका सातवटा पम्प सञ्चालनमा ल्याएर करिब ५०० घरपरिवारमा खानेपानी सेवा पुन:स्थापित गरिएको छ।
त्यसैगरी, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)सँगको समन्वयमा भदौ १२ गतेदेखि चारवटा ट्यांकर परिचालन गरिएको छ। ती ट्यांकरमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा खानेपानी वितरण भइरहेको महानिर्देशक श्रेष्ठले बताएका छन्।
४१ किलोमिटरभन्दा बढी पाइप तयारी अवस्थामा
त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका अन्य प्रभावित क्षेत्रमा खानेपानी सेवा विस्तारका लागि आवश्यक सामग्री व्यवस्थापन गरिएको विभागले जनाएको छ।
विभागका अनुसार सेवा विस्तारका लागि दुई एचपी र एक एचपी क्षमताका गरी १४ वटा पम्प, एक हजार लिटर क्षमताको हिलटेक ट्यांकी तथा करिब ४१.१ किलोमिटर एचडीपीई पाइप तयारी अवस्थामा राखिएको छ।
यी सामग्री प्रभावित क्षेत्रमा ढुवानी गरी आवश्यक स्थानमा जडान गरेर खानेपानी सेवा विस्तार गर्ने तयारी भइरहेको विभागको भनाइ छ।
दीर्घकालीन पुन:स्थापनाको काम पनि अघि बढाइदै
बाढीबाट क्षतिग्रस्त खानेपानी संरचनाको मर्मत तथा पुन:स्थापनाका लागि प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। साथै, प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न तत्कालीन राहतसँगै दीर्घकालीन पुन:स्थापनाको काम पनि अघि बढाइएको विभागले जनाएको छ।
क्षतिको पूर्ण विवरण संकलन भएपछि प्रभावित आयोजनाको आवश्यकता र अवस्थाका आधारमा थप पुनर्निर्माण तथा पुन:स्थापनाका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ।













