२१ भदौ २०८३, आइतबार

भाटभटेनीका मालिक गुरुङले ३ वर्षमा खडा गरे ३ ठूला होल्डिङ कम्पनी, कहाँ-कहाँ छ लगानी ?



व्यापारिक हस्ती मीनबहादुर गुरुङले पछिल्ला तीन वर्षमा ऊर्जादेखि सेयर बजारसम्म अर्बौँ रूपैयाँ लगानी विस्तार गरे पनि नयाँ कम्पनीहरू उच्च ऋण र जोखिमपूर्ण एकोहोरो लगानीको दबाबमा परेका छन्।

काठमाडाैँ । व्यापारिक घराना भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले आफ्नो व्यावसायिक दायरालाई डिपार्टमेन्टल स्टोरभन्दा धेरै टाढा पुर्याएका छन्।

पछिल्लो तीन वर्षको अवधिमा गुरुङले आफ्नै परिवार र समूहको संलग्नतामा तीनवटा छुट्टै लगानी कम्पनीहरू स्थापना गरेर जलविद्युत्, सौर्य ऊर्जा, कृषि, अस्पताल, आतिथ्य सत्कार, घरजग्गा र सेयर बजारमा ठूलो पुँजी परिचालन गरेका हुन्। यसरी स्थापना भएका भाटभटेनी इन्भेस्टमेन्ट, श्रीवृद्धि होल्डिङ र श्रीनिवास होल्डिङमार्फत उनको व्यावसायिक साम्राज्य देशका बहुआयामिक क्षेत्रमा फैलिएको छ।

२०८० पुसमा स्थापित भाटभटेनी इन्भेस्टमेन्ट कम्पनी प्रालिमा भाटभटेनी सुपरमार्केटको समेत मुख्य स्वामित्व रहेको छ। अध्यक्ष गुरुङको नेतृत्वमा रहेको यस कम्पनीको ५९ प्रतिशत लगानी अहिलेसम्म सूचीकृत नभएका र निर्माणाधीन परियोजनाहरूमा केन्द्रित छ।

ठूला परियोजनामा लामो समयसम्म प्रतिफल नआउने हुँदा कम्पनीको तरलतामाथि दबाब पर्न थालेको छ। यसबाहेक, कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको भारी कर्जा उठाएको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको आम्दानी देखाए पनि उच्च ऋणको आकार र निर्माणाधीन क्षेत्रको ढिलाइले चुनौती थपेको छ।

श्रीवृद्धि र श्रीनिवास होल्डिङको जोखिमपूर्ण लगानी ?

२०८१ चैतमा स्थापित श्रीवृद्धि होल्डिङ र श्रीनिवास होल्डिङ कम्पनीहरू पूर्ण रूपमा गुरुङ परिवारको स्वामित्वमा सञ्चालनमा छन्। यी दुवै कम्पनीले घरजग्गा विकास र अल्पकालीन लगानीलाई मुख्य उद्देश्य बनाए पनि उनीहरूको लगानी विविधीकरणमा गम्भीर कमजोरी देखिएको छ।

श्रीवृद्धिको कुल लगानीको करिब ७७ प्रतिशत बैंकिङ क्षेत्रमा र त्यसको पनि झण्डै आधा हिस्सा एउटै मात्र कम्पनीको सेयरमा सीमित छ। त्यस्तै, श्रीनिवास होल्डिङको ७२ प्रतिशत पुँजी जलविद्युत् क्षेत्रमा र त्यसको ठूलै हिस्सा एउटै संस्थामा केन्द्रित हुँदा बजारको उतारचढावले सीधै नोक्सानी पुर्याएको छ।

श्रीनिवासको कुल लगानीमा १२ प्रतिशतसम्मको घाटा देखिएको छ भने यी दुवै कम्पनीले बैंकबाट अर्बौँ रूपैयाँ ऋण लिएर सेयर बजारमा लगानी गरेका छन्।

बलियो पृष्ठभूमि, जोखिमपूर्ण भविष्य !

भाटभटेनी समूहको शाख र स्थापित ब्रान्डका कारण यी नयाँ कम्पनीहरूले सहजै ठूलो परिमाणमा बैंक कर्जा जुटाउन सफल भएका छन्।

बजारमा गुरुङको व्यावसायिक अनुभव र बलियो पहुँचलाई यी कम्पनीका सकारात्मक पक्ष मानिएको छ। तर, वित्तीय विश्लेषकहरूले छोटो समयमै खडा भएका यी होल्डिङ कम्पनीहरू उच्च ऋण, एउटै क्षेत्रमा अत्यधिक लगानीको केन्द्रिकरण र प्रतिफलभन्दा पनि बजारको अस्थिरतामा निर्भर हुनुपर्ने बाध्यताका कारण जोखिमपूर्ण बन्दै गएको औंल्याएका छन्।

प्रवर्द्धकहरूको बलियो नाम मात्रैले दीर्घकालीन सफलता सुनिश्चित नगर्ने भएकाले भविष्यमा पर्याप्त नगद प्रवाह र प्रभावकारी जोखिम व्यवस्थापन गर्नु यी कम्पनीका लागि मुख्य परीक्षा बन्ने देखिएको छ।