२२ भदौ २०८३, सोमबार

विकास मोडेलमा पुनर्विचार गर्न राष्ट्रपति पौडेलको आग्रह, जलवायु न्यायका लागि ध्यानाकर्षण



काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० को विनाशकारी बाढी तथा पहिरोबाट सिर्जित संकटको सामना गर्न राजनीतिक दल, राज्य संयन्त्र र आम नागरिक एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले विपत्तिको समयमा आरोप–प्रत्यारोप र राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता तथा सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

राष्ट्रपति पौडेलले भदौ १० गते हिमनदीको बरफ र चट्टानसहित आएको हिमपहिरोबाट उत्पन्न बाढीलाई कहालीलाग्दो प्राकृतिक प्रकोपको रूपमा उल्लेख गरे। उक्त घटनाले ठूलो मानवीय क्षतिसँगै घरपरिवार, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा गम्भीर असर पुर्‍याएको भन्दै उनले दु:ख पनि व्यक्त गरे।

विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति पौडेलले शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

उनले जोखिमको पर्वाह नगरी उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको योगदानको प्रशंसा पनि गरे। उनीहरूको समर्पणले नेपाली समाजको मानवीय भावना र सेवाभावलाई उजागर गरेको उनको भनाइ थियो।

भौगोलिक कठिनाइका कारण उद्धार कार्य चुनौतीपूर्ण भए पनि बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई निरन्तरता दिन राष्ट्रपतिले सरकारलाई आग्रह गरे।

उनले विपत्तिमा परी ज्यान गुमाएका विदेशी नागरिकप्रति पनि दु:ख व्यक्त गरेका छन्। नेपालमा रहेका प्रत्येक व्यक्तिलाई आफ्नो परिवारको सदस्यसरह व्यवहार गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले सम्बन्धित विदेशी सरकार तथा कूटनीतिक नियोगसँग आवश्यक समन्वय गर्नुपर्ने बताए। खोज तथा उद्धारसँगै प्राविधिक सहयोग उपलब्ध गराउने छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायप्रति पनि उनले आभार व्यक्त गरे।

विस्थापित तथा प्रभावित नागरिकका आधारभूत आवश्यकता तत्काल पूरा गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए। उनले खाद्यान्न, सुरक्षित खानेपानी, स्वास्थ्य उपचार र अस्थायी आश्रयको व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिलाको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। विपत्तिमा मृत्यु भएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षणलगायत वैज्ञानिक विधि प्रयोग गर्नुपर्ने सुझाव पनि उनले दिए।

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

राष्ट्रपति पौडेलले हिमनदी फुट्ने तथा हिमपहिरो जानेजस्ता घटनालाई बढ्दो विश्वव्यापी तापक्रमसँग सम्बन्धित विषयका रूपमा प्रस्तुत गर्दै जलवायु परिवर्तनको असरप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।

नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका जलवायुजन्य जोखिमलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय स्तरबाट जलवायु न्यायका लागि ठोस पहल आवश्यक रहेको उनले बताए।

विकास मोडेलमा पुनर्विचार गर्न आग्रह

राष्ट्रपति पौडेलले विकास मोडेलमा पुनर्विचार गर्न पनि आग्रह गरेका छन्। पुनर्निर्माण र पुनर्स्थापनाको चरणमा प्रवेश गर्दा देशको विद्यमान विकास पद्धतिबारे समेत पुनर्विचार गर्नुपर्ने धारणा उनले राखेका हुन्।

उनले भने “यो समय पुनर्निर्माण, पुन:स्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो । हामी पुनर्निर्माण, पुन:स्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ ।”

विगतमा भूकम्प तथा महामारीका कठिन परिस्थितिलाई नेपालीले धैर्य र साहसका साथ सामना गरेझैँ यस संकटबाट पनि देशले पार पाउने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय पुनरुत्थानका लागि सबै पक्षलाई एक ठाउँमा उभिन आह्वान गरे।