छिमेकबाट भ्रमण थाल्ने परम्परा ताेडेर असोजमा अमेरिका उड्दै प्रधानमन्त्री, जलवायु जाेखिम विशेष मुद्दा
भोटेकोशी बाढीको पीडा अन्तर्राष्ट्रिय मञ्चमा लैजान प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते न्यूयोर्क जाने भएका छन् भने यो उनको पहिलो विदेश भ्रमणसमेत हो।
काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन्। गत चैत १३ मा प्रधानमन्त्रीको कार्यभार सम्हालेयता यो उनको पहिलो विदेश भ्रमण हो।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने तय भए पनि देशले व्यहोरेको ठूलो जनधनको क्षतिका कारण भ्रमणको तालिका र प्रतिनिधित्व नै परिवर्तन गरिएको हो।
भोटेकोशी र त्रिशूली नदी करिडोरमा आएको विध्वंशकारी भेलबाढी तथा पहिरोका कारण १३ सयभन्दा बढीको ज्यान गएको र ५ हजार हाराहारी बेपत्ता भएका छन् । साथै हजारौँ विस्थापित भएपछि प्रधानमन्त्री शाहले आफैँले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने निर्णय लिएका हुन् ।
उत्तर हिमालय क्षेत्रमा गएको हिमनदी विष्फोट र बाढीका कारण देशले ठूलो संकट झेलिरहेको बेला प्रधानमन्त्री शाहले विश्व मञ्चबाट नेपालको अवस्था गम्भीर रूपमा राख्ने तयारी गरेका छन्। असोज २४ गते उनले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यसूची रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको यो भ्रमण छोटो अवधिको हुनेछ र उनी असोज ९ गते नै स्वदेश फर्कनेछन्।
राहत, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन यो सम्बोधन अत्यन्त महत्त्वपूर्ण हुने सरकारको विश्वास छ। परराष्ट्रमन्त्री शिशिर खनाल प्रधानमन्त्रीभन्दा अगाडि नै न्यूयोर्क पुगी साइडलाइन बैठकहरूमा सहभागी हुनेछन् भने प्रधानमन्त्रीको टोलीमा १० जनासम्म मात्र रहने बताइएको छ।
परम्परा तोड्दै अमेरिकाबाट विदेश यात्रा थालनी
नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्रीका रूपमा पहिलो विदेश यात्रा अमेरिकाबाट सुरु गर्ने बालेन्द्र शाह पहिलो प्रधानमन्त्री बन्ने छन्। यसअघि नेपालका कुनै पनि जीवित वा पूर्वप्रधानमन्त्रीहरूले आफ्ना कार्यकालको पहिलो विदेश भ्रमण अमेरिकाबाट थालनी गरेका थिएनन्।
सशस्त्र द्वन्द्वबाट शान्ति प्रकृयामा प्रवेश गरेलगत्तै विसं २०६५ मा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले चीनबाट विदेश यात्राकाे थालनी गरेका थिए । उनले बेइजिङ ओलम्पिककाे उद्घाटन समाराेहमा भाग लिएर स्वदेश फर्किँदा विमानस्थलबाटै भनेका थिए, “मेराे पहिलाे विदेश भ्रमण प्राविधिक रूपमा चीन भए पनि पहिलाे राजनीतिक भ्रमण भारतबाटै शुरू हुन्छ ।”
यद्यपि, यस घटनापछि नेपाली प्रधानमन्त्रीले पहिलाे विदेश यात्राका लागि भारत राेज्ने परम्परा अन्त्य भएर चिन नयाँ विकल्प बनेकाे थियाे । पछि २०७२ मा भारतीय नाकाबन्दी खेपिरहेका बखत प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले पनि पहिलो भ्रमणका लागि चीन रोजेका थिए । भलै उनीहरू दुबैले पछिल्ला कार्यकालहरूमा विदेश भ्रमणकाे थालनी भारतबाटै गरे । शेरबहादुर देउवाले भारत लगायतका अन्य मीत्रराष्ट्रमा पनि एकसाथ भ्रमण गरेर विदेश यात्राकाे थालनी गर्ने गरेका थिए।
तर। संयुक्त राष्ट्रसंघीय महासभाकै सिलसिलामा किन नहाेस्, कार्यकालको पहिलो विदेश भ्रमणका लागि अमेरिकालाई छान्ने पहिलो नेपाली प्रधानमन्त्री नै बालेन शाह बनेका छन्। यसर्थ उनकाे याे भ्रमण नेपालकाे कूटनीतिक इतिहासका लागि पनि नवीन खुराक हाे ।
साथै, एक “गरिब मगन्ते”काे भाष्यबाट माथि उठेर जलवायु प्रकाेपजन्य जाेखिमकाे वैश्विक मुद्दा उठाउने र सहयाेग माग्नुकाे साटाे न्यायकाे अपील गर्ने याे एक उत्कृष्ट माैका पनि हाे ।
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी सहितका अधिकतर विश्व नेताहरूले भाेटाेकाेशी-त्रिशुली करिडाेरमा देखिएकाे विध्वंशलाइ राम्राेसँग देखेकाे र बाेलिसकेकाे अवस्थामा प्रधानमन्त्रीकाे याे यात्राले नेपालकाे विदेशनीतिमा एउटा नयाँ “पाेजिसनिङ” सिर्जना गर्न मद्दत गर्नसक्छ ।
तर त्यसाे गर्न र विश्वकाे ध्यान खिच्ने गरी उक्त राष्ट्रसंघीय मञ्चकाे उपयाेग गर्न सक्छन् कि सक्दैनन् भन्ने चाहीँ प्रधानमन्त्री शाहकै क्षमता र नेपाली प्रतिनिधी मण्डलकाे तयारीमा निर्भर गर्छ ।
राष्ट्रपतिको अपिल
प्रधानमन्त्रीले न्यूयाेर्कमा बाेल्नु अघि नै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष जोडदार अपिल गरेका छन्।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली पर्यावरणमा गहिरो संकट उत्पन्न भएको उल्लेख गरे। उनले नेपालले भूकम्प, बाढी र महामारी जस्ता विपद्हरूको सामना सधैँ अदम्य साहसका साथ गर्दै आएको स्पष्ट पार्दै पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न र प्रभावकारी कदम चाल्न आग्रह गरे।
राष्ट्रपतिकाे याे अपिल अर्काे महिना हुने राष्ट्रसंघीय महासभामा प्रधानमन्त्रीकाे प्रस्तुती अझ तिखार्न र जलवायु जाेखिममा रहेका अन्य मुलुकहरूकाे समेत नेतृत्व गर्न उपयाेगी मार्गदर्शन हुने छ । तथापि, यही मुद्दा उठाउनका लागि भनेर अमेरिका प्रस्थान गर्न लागेका प्रधानमन्त्रीकाे सुरूआति प्रयास हेर्दा आगामी दिनमा नेपालको कूटनीतिक र अन्तर्राष्ट्रिय फोरममा जलवायु मुद्दाले प्रमुख स्थान पाउने स्पष्ट संकेत गरेको छ।












