२३ भदौ २०८३, मंगलबार

आज जेनजी सहिद दिवस मनाइँदै, सुशासनमा जोड दिन पूर्वप्रधानमन्त्री कार्कीको आग्रह



काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा आज जेनजी सहिद दिवस मनाइँदैछ। गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनले मुलुकको राजनीतिक परिवेशमा ठूलो परिवर्तन ल्याएको थियो।

आन्दोलनका क्रममा मृत्यु भएका युवाप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्न सरकारले आज देशभर सार्वजनिक बिदा दिएको हो। सरकारले भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत जेनजी सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

सुशासनमा जोड दिन पूर्वप्रधानमन्त्री कार्कीको आग्रह

यसैबीच जेनजी दिवसका अवसरमा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासनमा जोड दिन सुझाव दिएकी छन्। राजनीतिक स्थिरता कायम गर्न संसद्मा रहेको बहुमत मात्र पर्याप्त नहुने कार्कीले बताएकी हुन्। उनका अनुसार सरकारको काम गर्ने शैली, नेतृत्वको चरित्र र सुशासनको अवस्थाले मुलुकको राजनीतिक स्थायित्व निर्धारण गर्छ।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सन्देश जारी गर्दै कार्कीले उक्त आन्दोलनले राज्य संयन्त्र र राजनीतिक नेतृत्वलाई महत्वपूर्ण सन्देश दिएको उल्लेख गरेकी छन्। उनले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, कानुनी शासनलाई प्रभावकारी बनाउन तथा नागरिकको सम्मान सुनिश्चित गर्न सरकार गम्भीर रूपमा अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।

उनले सुशासन, पारदर्शिता, जवाफदेहिता र राम्रो भविष्यको माग गर्दै युवाहरूले सडक तथा डिजिटल माध्यमबाट आवाज उठाएको उल्लेख गरेकी छन्। कार्कीले जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिलाई स्मरण गर्दै त्यस्ता दुःखद घटना भविष्यमा पुनः हुन नदिन राज्यसहित सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने बताएकी छन्।