२३ भदौ २०८३, मंगलबार

भोटेकोशी बाढीपीडितका लागि जापानले ४५ करोड बढीको सहयोग गर्ने



काठमाडौँ। जापान सरकारले नेपालमा हालै आएको बाढीबाट प्रभावित नागरिकका लागि ३० लाख अमेरिकी डलर बराबरको आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने भएको छ। उक्त रकम नेपाली मुद्रामा करिब ४५ करोड ३२ लाख रुपैयाँ बराबर हुन्छ।

जापानको विदेश मन्त्रालयले मंगलबार सार्वजनिक गरेको जानकारीअनुसार बाढी प्रभावित क्षेत्रमा राहत तथा आवश्यक मानवीय सहयोग पुर्‍याउने उद्देश्यले यो सहायता घोषणा गरिएको हो।

सहायता रकम विभिन्न अन्तर्राष्ट्रिय संस्थामार्फत परिचालन गरिनेछ। जापानका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी), रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले सहयोग वितरणमा भूमिका निर्वाह गर्नेछन्।

घोषित सहयोगबाट बाढी प्रभावित नागरिकका लागि खाद्यान्न, स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ तथा स्वच्छता र आवश्यक गैर–खाद्य सामग्रीको व्यवस्था गरिनेछ।

डब्लूएफपीमार्फत १० लाख अमेरिकी डलर खाद्य सहायता उपलब्ध गराइनेछ भने आईएफआरसीले सोही बराबरको रकम स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी क्षेत्रमा खर्च गर्नेछ।

त्यस्तै, आईओएममार्फत थप १० लाख अमेरिकी डलर बराबरका गैर–खाद्य सामग्री बाढी प्रभावित समुदायसम्म पुर्‍याइने जापानले जनाएको छ।