‘वर्डक्याम्प काठमाडौँ २०२६’ को तयारी अन्तिम चरणमा: नयाँ प्रविधि सिक्ने र करियर सुरू गर्ने सुनौलो अवसर
काठमाडौँ । नेपालको सूचना प्रविधि क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प काठमाडौँ २०२६’ को सम्पूर्ण तयारी पूरा भएकाे छ। वर्डप्रेस काठमाडौँको आयोजनामा गैरीधारास्थित एलिस रिसेप्सन्समा हुने यस दुईदिने सम्मेलनले सहभागीहरूलाई अत्याधुनिक एआई प्रविधिदेखि अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्नेसम्मका विविध आयाम सिक्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ।
सम्मेलनको पहिलो दिन ‘कन्ट्रीब्युटर डे’ मा विशेष वर्डप्रेस ट्रेनिङ रहनेछ, जसले सहभागीहरूलाई वर्डप्रेसको क्षेत्रमा करियर सुरु गर्ने स्पष्ट मार्ग देखाउनेछ। यसका साथै, सहभागीहरूले विश्वभरका ४३ प्रतिशतभन्दा बढी वेबसाइट सञ्चालन गर्ने खुला स्रोत सफ्टवेयर वर्डप्रेसमा प्रत्यक्ष योगदान पुर्याउने अवसर पाउनेछन्। कोर कोडिङ, अनुवाद, दस्ताबेजीकरण, थिम तथा प्लगइन परीक्षण र सुरक्षा जस्ता विषयमा अन्तर्राष्ट्रिय मेन्टरहरूसँग काम गर्दै प्राविधिक सिप तिखार्न र आफ्नो प्रोफाइललाई विश्वस्तरीय बनाउन यो नवप्रवेशी तथा अनुभवी सबैका लागि फलदायी हुनेछ।
सम्मेलनको दोस्रो दिन आर्टिफिसियल इन्टेलिजेन्स (एआई), अटोमेसन र आधुनिक वेब विकासका साथै व्यावसायिक रणनीतिका विविध पक्षहरूमा केन्द्रित ३० भन्दा बढी प्राविधिक सत्रहरू सञ्चालन हुनेछन्।
नेपालसहित अमेरिका, युरोप, भारत र बङ्गलादेशका ख्यातिप्राप्त विज्ञहरूबाट सहभागीहरूले एआईको प्रयोगमार्फत छिटो र प्रभावकारी सफ्टवेयर विकास गर्ने तरिका, स्मार्ट प्रम्प्ट लेखन, युआई-युएक्स डिजाइनका साथै नेपालमै बसेर विदेशी ग्राहकसँग कसरी काम गर्ने र आफ्ना डिजिटल उत्पादनहरूलाई विश्व बजारमा बिक्री गरी मुद्रा आर्जन गर्ने भन्ने जस्ता विभिन्न प्रकारका तालिम र ज्ञान प्राप्त गर्ने अवसर पाउनेछन्।
नेपालसहित अमेरिका, युरोप, भारत र बङ्गलादेशका ख्यातिप्राप्त विज्ञहरूले एआईको प्रयोगमार्फत छिटो र प्रभावकारी सफ्टवेयर विकास गर्ने तरिका, स्मार्ट प्रम्प्ट लेखन, युआई-युएक्स डिजाइनका साथै नेपालमै बसेर विदेशी ग्राहकसँग कसरी काम गर्ने र आफ्ना डिजिटल उत्पादनहरूलाई विश्व बजारमा बिक्री गरी मुद्रा आर्जन गर्ने भन्ने व्यावहारिक रणनीतिहरू सिकाउनेछन्।
यस पटकको कार्यक्रमले सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी तथा युवाहरूका लागि रोजगारी, इन्टर्नसिप र उद्यमशीलताको ढोका खोल्नेछ। ब्लुहोस्ट, होस्टिङ डटकम, जेटप्याक र एलिमेन्टरजस्ता विश्वप्रसिद्ध बहुराष्ट्रिय प्रविधि कम्पनीहरूको प्रत्यक्ष सहभागिता रहने भएकाले सहभागीहरूले अन्तर्राष्ट्रिय नेतृत्वसँग प्रत्यक्ष भेटघाट, नेटवर्किङ र व्यावसायिक सहकार्यका नयाँ अवसरहरू पहिल्याउन सक्ने आयोजकको भनाइ छ।












