आँटले जितेको व्यवसाय, खरानी बनेका स्टोरहरूमा फेरि कसरी फर्कियो चहलपहल ?
खरानी बनेको एक वर्षमै १४ अर्बको नयाँ संरचनासहित बौरियो भाटभटेनी, १० हजार कर्मचारीको रोजगारी सुरक्षित राख्दै पुनः सञ्चालनमा आयो देशभरका स्टोरहरूको नेटवर्क।
काठमाडाैँ । गत वर्षको भदौ महिनामा उत्पन्न अशान्ति र आन्दोलनका क्रममा देशको व्यावसायिक क्षेत्रले ठूलो मूल्य चुकाउनु पर्यो, जसको सबैभन्दा ठूलो असर नेपालको अग्रणी सुपरमार्केट चेन भाटभटेनीमाथि पर्यो।
नक्सालदेखि बिर्तामोडसम्म फैलिएका स्टोरहरूमा भएको तोडफोड र आगजनीले भाटभटेनीको व्यावसायिक साम्राज्यलाई नै धरमराउन बाध्य पारेको थियो। आन्दोलनको रापले देशभरका झन्डै २० वटा स्टोरमा क्षति पुर्याएको थियो भने १२ वटा स्टोर पूर्ण रूपमा जलेर खरानीमा परिणत भएका थिए।
प्रारम्भिक मूल्यांकन अनुसार कम्पनीले करिब ११ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति बेहोर्नु परेको थियो। भवन, मेशिनरी र स्टकमा रहेका अर्बौं रुपैयाँका सामान क्षणभरमै स्वाहा हुँदा भाटभटेनीको भविष्यमाथि नै गम्भीर प्रश्न उठेको थियो।
भौतिक संरचना ध्वस्त भएर व्यवसाय ठप्प हुँदा पनि भाटभटेनीले आफ्ना १० हजारभन्दा बढी कर्मचारीलाई कुनै पनि प्रकारको निराशा हुन दिएन। स्टोरहरू बन्द रहेको अवस्थामा समेत कम्पनीले मानवीय र नैतिक जिम्मेवारी बहन गर्दै सबै कर्मचारीलाई नियमित रूपमा तलब तथा सुविधा उपलब्ध गरायो।
कुनै पनि कर्मचारीलाई रोजगारीबाट निष्कासन नगरिकनै उनीहरूलाई अन्य सुरक्षित शाखाहरूमा स्थानान्तरण गरी व्यवस्थापन गरियो। १८ वर्षदेखि कार्यरत कर्मचारीदेखि लिएर स्थानीय उपभोक्तासम्मले यो संकटको घडीमा कम्पनीले देखाएको अभिभावकीय भूमिकाको खुलेर प्रशंसा गरेका छन्।
भौतिक क्षतिभन्दा पनि मानवीय संवेदना र रोजगारीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको कारण यो पुनरागमनलाई नेपाली कर्पोरेट इतिहासमै एक भावनात्मक र उदाहरणीय घटनाका रूपमा लिइएको छ।
नयाँ प्रविधि र भव्य संरचनासहितको पुन:स्थापना
विनाशको पिडालाई शक्तिमा बदल्दै भाटभटेनीले विगत एक वर्षको अवधिमा उल्लेख्य पुनःनिर्माणको काम सम्पन्न गरेको छ। क्षति भएको ११ अर्बको संरचनामा थप लगानी थप्दै कम्पनीले करिब १४ अर्ब रुपैयाँको लागतमा स्टोरहरूलाई अझ बढी आधुनिक, सुरक्षित र ग्राहकमैत्री बनाएर पुनस्र्थापना गरेको छ।
उपत्यकाभित्रका महाराजगञ्ज, बौद्ध र कोटेश्वर लगायतका प्रमुख शाखाहरू पुनः सञ्चालनमा आइसकेका छन् भने उपत्यका बाहिरका विराटनगर, बिर्तामोड, चितवन, पोखरा र बुटवलका स्टोरहरू पनि खुलिसकेका छन्। लामो समयसम्म स्टोरहरू बन्द हुँदा कम्पनीको समग्र कारोबारमा करिब २० प्रतिशतले गिरावट आए पनि अब आपूर्ति व्यवस्थापन सहज बन्दै गएको छ।
बीमा दाबीको प्रक्रिया अगाडि बढिरहेको अवस्थामा बौद्ध लगायतका शाखा पुनस्र्थापना हुँदा स्थानीय उपभोक्तामा पनि भारी उत्साह देखिएको छ।
विगतको तितो अनुभवलाई पछाडि छोड्दै भाटभटेनीले आगामी दिनका लागि अझै ठूला व्यावसायिक योजनाहरू अगाडि सारेको छ। अध्यक्ष मीनबहादुर गुरुङको दृढ इच्छाशक्ति र नेतृत्वमा कम्पनीले अब देशका ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्ने र पहिलो चरणमा ५० वटा स्टोर सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।
यसबाट आगामी दिनमा ५० हजारभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने दीर्घकालीन सोच राखिएको छ। चितवनको टाँडी, पोखराको लेखनाथ, सातदोबाटो र भैंसेपाटी लगायतका स्थानहरूमा थप नयाँ स्टोरहरू खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ। यस प्रकारले खरानीबाट बौरिएको भाटभटेनीले फेरि एकपटक नेपाली भूमिमा लगानी, संघर्ष र व्यावसायिक सफलताको दरिलो उदाहरण प्रस्तुत गरेको छ।












