२३ भदौ २०८३, मंगलबार

गोल्छा च्यारिटी ट्रष्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग



काठमाडौं । गोल्छा परिवारले प्रधानमन्त्री उद्धार कोषमा रु. १ करोड ११ लाख सहयोग गरेको छ।

मुलुकमा आइपरेको विषम परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’मार्फत भाद्र २२ गते उक्त रकम हस्तान्तरण गरेको हो।

यो सहयोग रकम देशका विभिन्न भागमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित समुदायहरूका लागि नेपाल सरकारद्वारा सञ्चालित आपत्कालीन उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यमा उपयोग हुनेछ।

विपद्का कारण प्रभावित सम्पूर्ण परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दै ट्रष्टले सङ्कटको यस घडीमा राष्ट्र र नागरिकको साथमा उभिने आफ्नो निरन्तर प्रतिबद्धता समेत दोहोर्‍याएको छ।