भदौ २४ को विध्वंस रहस्यमय, गहिरो अनुसन्धान हुनुपर्छः प्रचण्ड
काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्षको भदौ २४ गतेको घटना नेपालको इतिहासमै गम्भीर र भयानक विध्वंस भएको बताएका छन्।
सार्वजनिक गरिएको एक भिडियो सन्देशमार्फत उनले यति छोटो अवधिमा भएको यति ठूलो क्षति र हमलाले अनेकौँ शङ्का जन्माएको बताएका छन्। केही घण्टाभित्रै मुलुकले भोगेको उक्त विध्वंस कसरी र किन भयो भन्ने विषयमा निष्पक्ष छानबिन अपरिहार्य रहेको उनको भनाइ छ।
घटना भएको एक वर्ष बितिसक्दा पनि सत्यतथ्य बाहिर आउन नसकेकोमा उनले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको छानबिन प्रतिवेदनलाई कार्यान्वयन गर्नुको सट्टा दराजमा थन्क्याइएको उनले आरोप लगाएका छन्। सरकार र सरोकारवाला निकायले घटनाको वास्तविकता उजागर गर्ने दिशामा अपेक्षित गति लिन नसकेको उनको बुझाइ छ।
त्यसअघि भदौ २३ गते युवाहरूले उठाएका सुशासन र पारदर्शिताका मुद्दाहरूको २४ गतेको घटनाले अपहरण गरेको प्रचण्डको दाबी छ। जेनजी युवाहरूले गरेको शान्तिपूर्ण आन्दोलनका भावनामाथि २४ गतेको हिंसात्मक घटनाले गम्भीर प्रहार गरेको उनले बताएका छन्। जेनजी पुस्ताको ऊर्जा र आकांक्षालाई गलत तत्त्वले कब्जामा लिएको उनको निष्कर्ष छ।
घटनाको दायरा केवल आन्तरिक मामिलामा मात्र सीमित नरहेको उनले औंल्याएका छन्। बदलिँदो भूराजनीतिक परिस्थिति र घटनाका अन्तर्राष्ट्रिय आयामहरूलाई मध्यनजर गर्दै बाह्य तहबाट समेत अध्ययन हुनुपर्नेमा उनले जोड दिएका छन्। वास्तविक दोषीलाई कठघरामा उभ्याउन र घटनाको गहिराइमा पुग्न अब बहुआयामिक अनुसन्धानको विकल्प नरहेको उनको भनाइ छ।












