२४ भदौ २०८३, बुधबार

अमेरिका र क्यानडाबीच चुलिँदो व्यापार युद्ध: मदिरा, मोटरसाइकल र डोरीजन्य वस्तुको आयातमा ट्रम्पले लगाए प्रतिबन्ध



काठमाडाैं । अमेरिका र क्यानडाबीचको व्यापार युद्ध थप चुलिएको छ। अमेरिकाले मंगलबार क्यानडाबाट आयात हुने मदिराजन्य पेय पदार्थ, मोटरसाइकल र विभिन्न डोरीजन्य वस्तुहरूमाथि प्रतिबन्धको घोषणा गरेको हाे।

व्हाइट हाउसको वेबसाइटमा प्रकाशित सूचनाअनुसार यो आयात प्रतिबन्ध आगामी सेप्टेम्बर २९ देखि लागू हुनेछ। क्यानडाले अमेरिकी सामानहरूमाथि लगाएका प्रतिबन्धात्मक करहरू मंगलबार मध्यरातदेखि लागू भएलगत्तै अमेरिकाले यो कडा कदम चालेको हो।

गत महिना अमेरिकाले करिब २० अर्ब डलर बराबरका क्यानेडियन सामानहरूमा ५० प्रतिशत कर लगाएपछि दुई देशबीचको तनाव चुलिएको थियो। वार्ताबारेका धेरै चरणका प्रयासहरू असफल भएपछि अमेरिकाले सो कर लगाएको थियो। पछिल्लो विवादले यी दुई छिमेकी तथा लामो समयका सहयोगी राष्ट्रहरूबीचको सम्बन्धमा थप दरार ल्याएको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकामाथिको निर्भरता हटाउँदै अन्य विकल्प खोज्न आग्रह गरेका छन्।

ह्वाइट हाउसका अनुसार अमेरिकाको नयाँ प्रतिबन्धमा बियर, वाइन, ह्विस्की, बोर्बन, रम, भोड्का, टिमिला, ब्रान्डीलगायत अधिकांश मदिराजन्य उत्पादनहरू परेका छन्। त्यसैगरी, ह्वे प्रोटिन, मोलान्सेस र मदिरा नभएका बियरहरू (नन्-अल्कोहलिक बियर) पनि प्रतिबन्धित सूचीमा समेटिएका छन्।

आयात प्रतिबन्धका साथै विभिन्न किसिमका चिजहरूलाई पूर्ण रूपमा प्रतिबन्ध नलगाए पनि ५० प्रतिशत कर लाग्ने वस्तुहरूको सूचीमा राखिएको छ। यसका अतिरिक्त कागज, आल्मुनियम, काठ, फर्निचर, र लाइटिङलगायतका उत्पादनहरू पनि यो सूचीमा थपिएका छन्।

यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका सवारी साधनहरूमाथिको कर २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने पूर्ववत चेतावनी आगामी जनवरी १ देखि लागू हुनेछ।

वासिङ्टनलाई आर्थिक तथा राजनीतिक दबाब दिनका लागि क्यानडाले पनि प्रति-कारबाहीस्वरूप अमेरिकी सामानहरूमा कर लगाएको छ। क्यानडाको यो कदमले अमेरिकालाई मंगलबारको कडा निर्णय लिन बाध्य बनाएको क्यानेडियन अधिकारीहरूले बताएका छन्।

क्यानडाले स्टिल, फर्निचर, लत्ताकपडा र इलेक्ट्रोनिक्स लगायतका करिब २० अर्ब डलर बराबरका अमेरिकी वस्तुहरूमा १५ देखि ५० प्रतिशतसम्मको कर लगाएको छ। आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि यसले अमेरिकाका ओहायो र मिसिगनजस्ता प्रतिस्पर्धी राज्यहरूका व्यापारिक क्षेत्रलाई असर पार्ने देखिन्छ।

सरकारी तथ्यांक अनुसार यस वर्ष क्यानडाले आफ्नो कुल निर्यातको करिब ६८ प्रतिशत हिस्सा अमेरिकातर्फ पठाएको छ, जसमध्ये ८० प्रतिशतभन्दा बढी युएसएमसीए सम्झाैता (अमेरिका-मेक्सीकाे-क्यानडा त्रिपक्षिय सम्झाैता) अन्तर्गत छुटको दायरामा पर्छन्। तर, गत महिना अमेरिकी कानुनअन्तर्गत लगाइएका नयाँ करहरूमा उक्त सम्झौताको छुट लागू हुँदैन।