निष्क्रिय कर्जाको चपेटामा फाइनान्स कम्पनी, राष्ट्र बैंकको रिपोर्टले के देखायो?
काठमाडौँ। निष्क्रिय कर्जा बढ्दै जाँदा नेपालका वित्त कम्पनीहरुको वित्तीय स्वास्थ्यमा जोखिम बढ्दै गएको छ। बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका अधिकांश फाइनान्स कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेको देखिएको हो।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १६ मध्ये १४ वटा फाइनान्स कम्पनीको औसत निस्क्रिय कर्जा अनुपात ७.६६ प्रतिशत पुगेको छ। तीमध्ये ६ कम्पनीमा यो दर दोहोरो अंकमा पुगेको छ।
यी विवरण कम्पनीहरूले बुझाएका अपरिष्कृत वित्तीय प्रतिवेदनमा आधारित छन्। अन्तिम लेखापरीक्षणपछि तथ्यांकमा केही परिवर्तन हुन सक्ने भए पनि हालको अवस्थाले फाइनान्स कम्पनीहरूको कर्जा गुणस्तरमा गम्भीर दबाब रहेको देखाउँछ।
जोखिममा जानकी फाइनान्स
निष्क्रिय कर्जाको अवस्था हेर्दा जानकी फाइनान्स सबैभन्दा कमजोर देखिएको छ। कम्पनीको कुल कर्जाको ६१.५५ प्रतिशत हिस्सा निष्क्रिय कर्जामा परेको छ। अर्थात्, कम्पनीले प्रवाह गरेको १०० रुपैयाँ कर्जामध्ये करिब ६२ रुपैयाँ असुलीको दृष्टिले निष्क्रिय बनेको अवस्था छ।
कम्पनीको वित्तीय अवस्था एनपीएलमा मात्र सीमित छैन। जानकी फाइनान्सको प्राथमिक पूँजी र कुल पूँजीकोष दुवै २५ करोड २७ लाख रुपैयाँभन्दा बढीले ऋणात्मक छन्। प्राथमिक तथा कुल पूँजी पर्याप्तता अनुपात पनि ऋणात्मक (६.१४) प्रतिशतमा झरेको छ।
६९ करोड रुपैयाँ चुक्तापूँजी रहेको संस्थाको पूँजीकोष ऋणात्मक हुनुले सञ्चित घाटाले कम्पनीको पूँजी आधारमा ठूलो क्षति पुर्याएको देखाउछ। त्यस्तै, कम्पनीको कर्जा–निक्षेप अनुपात ९८.५७ प्रतिशत पुगेको छ, जुन राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमाभन्दा माथि हो।
यसरी हेर्दा जानकी फाइनान्समा निष्क्रिय कर्जा, पूँजी पर्याप्तता र स्रोत व्यवस्थापन तीनै क्षेत्रमा एकसाथ दबाब देखिएको छ।
६ कम्पनीको निष्क्रिय कर्जा १० प्रतिशतभन्दा माथि
राष्ट्र बैंकको विवरणले फाइनान्स क्षेत्रमा निष्क्रिय कर्जाको समस्या अझै विकराल देखाउछ। १४ मध्ये ६ कम्पनीको एनपीएल दोहोरो अंकमा पुगेको छ। जानकीपछि फाइनान्सपछि पोखरा फाइनान्सको अवस्था पनि कमजोर देखिएको छ। कम्पनीको निष्क्रीय कर्जा अनुपात २०.८४ प्रतिशत पुगेको छ।
नेपाल फाइनान्सको निष्क्रिय कर्जा १३.८३ प्रतिशत छ भने बेस्ट फाइनान्सको १३.६९ प्रतिशत र गोर्खाज फाइनान्सको १३.३२ प्रतिशत रहेको छ। सेन्ट्रल फाइनान्सको एनपीएल पनि १०.४० प्रतिशत पुगेको छ।
फाइनान्स कम्पनीका लागि अहिले व्यवसाय विस्तारभन्दा पुरानो कर्जा असुली र सम्पत्तिको गुणस्तर सुधार गर्नु प्रमुख चुनौती बनेको छ। निष्क्रिय कर्जा बढ्दा ब्याज आम्दानीमा असर पर्नुका साथै कर्जा नोक्सानी व्यवस्थाका लागि थप रकम छुट्याउनुपर्ने हुन्छ। यसको असर कम्पनीको नाफा, प्रतिसेयर आम्दानी, नेटवर्थ र लाभांश क्षमतामा प्रत्यक्ष पर्न सक्छ।
विशेषगरी दोहोरो अंकमा निष्क्रिय कर्जा पुगेका संस्थाले प्रभावकारी असुली गर्न नसके आगामी आर्थिक वर्षमा पनि सेयरधनीलाई आकर्षक प्रतिफल दिन कठिन हुन सक्छ। पूँजीकोष कमजोर भएका कम्पनीमा थप कर्जा बिग्रिँदै गए नयाँ पूँजी जुटाउने, व्यवसायको आकार घटाउने वा मर्जर तथा प्राप्तिको बाटो रोज्नुपर्ने दबाबसमेत बढ्न सक्ने देखिएको छ।












