कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र, भदौभित्रै यातायात सुचारु गर्ने प्रयास
काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत अवरुद्ध कृष्णभीर खण्डमा भदौ मसान्तभित्रै यातायात सुचारु गर्ने गरी युद्धस्तरमा काम अघि बढाइएको छ। लगातारको बाढीपहिरोले बिग्रिएको यस मुख्य राजमार्गलाई पुनस् सञ्चालनमा ल्याउन सरकारले प्राविधिक टोली परिचालन गरेर रातारात काम गरिरहेको छ।
कृष्णभीरको भित्ता काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्न अहिले १० वटा हेभी मेसिन र ३० जना प्राविधिक तथा मजदुर खटिएका छन्। कामको गति नरोकिओस् भन्नका लागि सशस्त्र प्रहरी बलको सहयोगमा निर्माण स्थलमा फ्लडलाइट जडान गरिएको छ। यसले गर्दा रातको समयमा समेत गरी दैनिक १२ देखि १४ घण्टासम्म लगातार काम भइरहेको छ।
नयाँ ट्रयाक निर्माणसँगै पहिरोको जोखिम रहेका स्थानमा रोकथामको काम र अन्य पाँच स्थानका भग्नावशेष पन्छाउने कामलाई पनि एकसाथ अघि बढाइएको प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल फेसबूकमार्फत् जानकारी दिएकाे छ।
गत भदौ १० गते आएको बाढीले कमजोर बनेको यो खण्ड भदौ १४ गते भोटेकोशी नदीमा आएको बाढीले पूर्ण रूपमा भासिएको थियो। घटनालगत्तै प्रधानमन्त्री बालेन शाह र भौतिक पूर्वाधारमन्त्रीबीच आपतकालीन छलफल भएको थियो।
त्यसलगत्तै सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका विशेषज्ञहरूले चार दिनसम्म स्थलगत अध्ययन गरी पहाड काटेर नयाँ विकल्प तयार पार्ने निष्कर्ष निकालेका थिए।
सोही प्राविधिक प्रतिवेदनका आधारमा अहिले सडक विभागले द्रुत गतिमा निर्माण कार्य गरिरहेको छ। भदौको अन्तिम साताभित्रै सवारीसाधान आवतजावत गराउने गरी सरकारले यस आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ।












