बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति : पुननिर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने, ९१७ जना सम्पर्कविहीन
काठमाडौं। गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटको ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक अध्ययनअनुसार दुई जिल्लामा सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू बाढीबाट प्रभावित भएका छन्।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित विभिन्न निकायका प्राविधिक सम्मिलित टोलीले गरेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए)ले १३ वटा जलविद्युत् आयोजनामा बाढीको प्रत्यक्ष असर परेको देखाएको छ।
जलविद्युत्बाहेक २४ मेगावाट क्षमताका पाँचवटा सौर्य विद्युत् आयोजनासमेत प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। बाढीबाट सबैभन्दा बढी असर ऊर्जा तथा सडक पूर्वाधारमा परेको अध्ययनले देखाएको छ। विद्युत् उत्पादन, प्रसारण तथा ग्रिड प्रणालीलाई पुन: सञ्चालनमा ल्याउन र क्षतिग्रस्त संरचनाको पुननिर्माण गर्न मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
बाढीको चपेटामा परेका जलविद्युत् आयोजनामा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ प्रमुख रूपमा रहेको छ। त्यसैगरी १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको रसुवा–भोटेकोशी, २० मेगावाटको लाङटाङ खोला र २२ मेगावाटको चिलिमे आयोजना पनि प्रभावित भएका छन्।
त्यस्तै, ५ मेगावाटको मैलुङ खोला, २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, १४.१ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी तथा १५.६ मेगावाट क्षमताको मिडल त्रिशूली गंगालगायत आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ।
सौर्य ऊर्जातर्फ २५ मेगावाट क्षमताको नुवाकोट सौर्य विद्युत् आयोजनासहित अन्य सौर्य परियोजनाहरू पनि बाढीबाट प्रभावित भएका छन्।
अध्ययन टोलीका अनुसार बाढीले विद्युत् उत्पादनसँग सम्बन्धित संरचनामा मात्रै नभई आयोजनासम्म पुग्ने पहुँचमार्ग, प्रसारण लाइन तथा अन्य आवश्यक पूर्वाधारमा समेत क्षति गरेको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विद्युत् प्रणालीलाई सामान्य अवस्थामा फर्काउन ठूलो लगानी आवश्यक पर्ने देखिएको छ।
९१७ जना श्रमिक अझै सम्पर्कविहीन
बाढीको क्षति भौतिक संरचनामा मात्र सीमित नरहेको प्रतिवेदनले देखाएको छ। प्रभावित जलविद्युत् आयोजनामा कार्यरत ९१७ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन रहेको उल्लेख गरिएको छ।
बाढी आएको करिब दुई साता बितिसक्दा पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेको जनाइएको छ। सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी र उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन भएका छन्।
यसका साथै विभिन्न देशबाट आएका विज्ञ तथा प्राविधिक र सम्बन्धित जलविद्युत् कम्पनीका प्राविधिक तथा विज्ञ टोली पनि खोज तथा उद्धार कार्यमा संलग्न छन्। बाढीबाट क्षतिग्रस्त ऊर्जा पूर्वाधारको पुन:स्थापना र बेपत्ता श्रमिक तथा कर्मचारीको खोजीलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने देखिएको छ।












