देवीघाटमा बेलिब्रिज निर्माण गरेपछि सेनाप्रति कृतज्ञता प्रकट गर्दै शेरबहादुर देउवा, दिए धन्यवाद
काठमाडाैँ । नुवाकोटको देवीघाटमा हालै निर्माण गरिएको बेलिब्रिजले त्यस क्षेत्रको जनजीवन सहज बनाएको भन्दै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेपाली सेनाको उच्च प्रशंसा गरेका छन्।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बिहीबार देवीघाट पुगेका देउवाले त्यहाँ खटिएका सैनिक अधिकारी र जवानहरूसँग भेटघाट गर्दै सेनाले पुर्याएको योगदानको मुक्तकण्ठले सराहना गरे।
अविरल वर्षापछिको बाढीले जनजीवन अस्तव्यस्त बनाएको र आवतजावत ठप्प भएको कठिन परिस्थितिमा सेनाले देखाएको ततत्परता र व्यावसायिकताको उनले विशेष रूपमा स्मरण गरे।
संकटका बेला जनताको साथमा उभिनुका साथै छोटो समयमै बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याउनु सराहनीय कदम भएको उनको भनाइ छ।
सेनाप्रति धन्यवाद र उच्च हौसला
निरीक्षणका क्रममा प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्दै देउवाले नेपाली सेनाको टोलीसँग प्रत्यक्ष संवाद गरे। सो अवसरमा उनले सेनालाई धन्यवाद ज्ञापन गर्दै भने, “नेपाल आर्मीले साँच्चिकै अत्यन्तै नेपाली जनता दुःखमा परेको बेलामा साथ दिएर बेलिब्रिज बनाइदिएको छ। नुवाकोटका दाजुभाइ, उहामाथिका मान्छे आवतजावत गरुन् भनेर, म धन्यवाद दिन्छु।”
साथै, उनले आगामी दिनमा पनि यस्ता मानवीय र विकास निर्माणका कार्यहरूलाई अझै उत्कृष्ट ढंगले अगाडि बढाउन सेनालाई आग्रह गरे। कठिन घडीमा राज्यका निकायहरूले खेल्ने भूमिकाले जनतामा आशा जगाउने र त्यसको गतिलो उदाहरण नेपाली सेनाले प्रस्तुत गरेको उनको ठहर छ।
प्रभावित क्षेत्रको सामूहिक निरीक्षण
बिहीबार बिहानैदेखि पूर्वप्रधानमन्त्री देउवा बाढीबाट प्रभावित विभिन्न क्षेत्रको वस्तुस्थिति बुझ्नका लागि उच्चस्तरीय टोलीसहित नुवाकोट पुगेका थिए। सो स्थलगत निरीक्षण अभियानमा देउवासँगै पार्टीका शीर्षस्थ नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मोहन बस्नेत, गुरु बराल र कुन्दनराज काफ्लेलगायतका नेताहरू पनि सँगै रहेका थिए।
नेताहरूको यो जम्बो टोलीले बाढीले पुर्याएको क्षतिको प्रत्यक्ष अवलोकन गर्नुका साथै स्थानीय बासिन्दाका गुनासा र पीडाहरू सुनेको थियो। राहत तथा पुनर्निर्माणको कामलाई तीव्रता दिन र अवरुद्ध भौतिक संरचनाहरू छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन स्थानीय प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यसहित यो निरीक्षण दौरा गरिएको बताइएको छ।












