२५ भदौ २०८३, बिहिबार

बालेनको अमेरिका भ्रमण स्वीकृतदेखि अनुचित लेनदेन नियन्त्रण विधेयक ल्याइनेसम्मः यी हुन् मन्त्रिपरिषद्का ७ निर्णय



काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको टोलीको अमेरिका भ्रमण स्वीकृत गरेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत बैठकले विभिन्न ७ निर्णय गरेको छ। जसमा छिमेकी मुलुक भारतको नयाँ दिल्लीमा आयोजना हुन गइरहेको नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको महत्त्वपूर्ण बैठकमा नेपालको तर्फबाट सहभागी भई द्विपक्षीय हित र व्यापारबारे छलफल गर्नका लागि नेपाली वार्ता टोलीको गठन गर्ने निर्णय भएको छ।

यस्तै सर्वसाधारणलाई ठूलो सास्ती दिइरहेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी अपराध नियन्त्रण गर्नका लागि आवश्यक कानुनी ढाँचा तयार पार्ने उद्देश्यले नयाँ विधेयक तर्जुमा गर्न बैठकले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।

यसैगरी, गरिबी निवारण कार्यक्रमलाई थप प्रभावकारी बनाउन काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहमा पहिचान गरिएका १७,४३८ गरिब घरपरिवारको अन्तिम सूचीलाई सरकारले स्वीकृत गरेको छ।

शिक्षा क्षेत्रको जनशक्ति व्यवस्थापनलाई सहज बनाउन शिक्षक सेवा आयोगका पदाधिकारीहरूको नियुक्ति गरिएको छ। आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल (भक्तपुर), सदस्यमा रामशरण सापकोटा (मकवानपुर) र महिला सदस्यमा विष्णु घिमिरे रिमाल (काठमाडौँ) लाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

प्रशासनिक सेवातर्फ उच्च पदस्थ अधिकारीहरूको बढुवा र पदस्थापनका निर्णयहरू पनि भएका छन्। जसअन्तर्गत सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गरिएको छ।

साथै, अर्का सहसचिव उत्तरकुमार खत्रीलाई पनि राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ।