२६ भदौ २०८३, शुक्रबार

आइसीएफसी फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग



काठमाडौं। आइसीएफसी फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि २५ लाख रुपैँया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ। प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकहरूको उद्धार, खोजतलास, राहत तथा पुन:स्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाले उक्त रकम कोषमा जम्मा गरेको हो।

यस विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति संस्थाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिहरूको सकुशल खोजी तथा उद्धारको कामना गरेको छ।

विपद्को यस कठिन समयमा प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सरकार, सम्बन्धित निकाय, संघसंस्था तथा आम नागरिकबीच सहकार्य र एकताको आवश्यकता रहेको फाइनान्सले जनाएको छ।

आइसीएफसी फाइनान्सले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा समुदायको साथमा रहँदै सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।