२६ भदौ २०८३, शुक्रबार

सीमापार वन्यजन्तु अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्य बढाउनुपर्छ : मन्त्री खनाल



दक्षिण एसियामा वन्यजन्तु अपराध नियन्त्रणका लागि साझा सहकार्य र सूचना आदानप्रदानमा जोड दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले प्राकृतिक सम्पदाको संरक्षण आधुनिक कूटनीतिको समेत प्राथमिकता बन्नुपर्ने बताएका छन्।

काठमाडाैँ । दक्षिण एसियाली क्षेत्रमा वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि क्षेत्रीय सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिइएको छ।

राजधानी काठमाडौंमा आयोजित दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालको पहिलो महासभाको स्वागत समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले सीमापार हुने वन्यजन्तु अपराध नियन्त्रणका लागि सम्बन्धित मुलुकका निकायबीच प्रभावकारी समन्वय र सूचना आदानप्रदान अपरिहार्य रहेको बताएका हुन्।

मन्त्री खनालले वन्यजन्तुको अवैध व्यापार अन्तर्राष्ट्रिय सुरक्षाकै लागि चुनौतीका रूपमा देखापरेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि वन्यजन्तु संरक्षणसम्बन्धी निकाय, भन्सार, प्रहरी, अनुसन्धानकर्ता तथा न्यायिक संस्थाबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने स्पष्ट पारे।

दक्षिण एसियाली मुलुकहरू भूगोल, पर्यावरण र इतिहासबाट आपसमा जोडिएको बताउँदै उनले हिमशृंखला, नदी प्रणाली, वन, सिमसार क्षेत्र तथा सीमापार आवतजावत गर्ने वन्यजन्तु सबैको साझा प्राकृतिक सम्पदा भएको धारणा राखे।

साझा प्रतिबद्धता र कूटनीति

नेपालले क्षेत्रीय सहकार्यलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै मन्त्री खनालले व्यावहारिक सहकार्य, आपसी विश्वास र जनताले महसुस गर्न सक्ने उपलब्धि नै दीर्घकालीन साझेदारीको आधार बन्ने बताए।

दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालको सचिवालय काठमाडौंमा राख्न पाउनु नेपालका लागि गर्वको विषय भएको बताउँदै उनले यसलाई केवल प्रशासनिक जिम्मेवारी मात्र नभई सबै सदस्य राष्ट्रको समान स्वामित्व भएको संस्थालाई सुदृढ बनाउने दीर्घकालीन प्रतिबद्धता बताएका छन्।

वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्ति, बलियो कानुनी संरचना, प्रभावकारी कार्यान्वयन र समुदायको सक्रिय सहभागिता अनिवार्य रहेको उनको भनाइ छ।

राष्ट्रियस्तरमा हासिल भएका संरक्षणका उपलब्धिहरूलाई सीमापार सहकार्यमार्फत अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले जैविक विविधताको संरक्षण, वातावरणीय अखण्डता र संगठित अपराध नियन्त्रणका विषयहरू आधुनिक कूटनीतिसँग समेत जोडिएकाले प्राकृतिक सम्पदाको संरक्षण सुरक्षित, समृद्ध र वातावरणीय रूपमा उत्थानशील दक्षिण एसिया निर्माणको आधार भएको बताए। यस कार्यमा परराष्ट्र मन्त्रालयले सक्रिय र दृढ साझेदारका रूपमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

भोटेकोशी विपद्

समारोहका क्रममा हालैको भोटेकोशी विपद्प्रति गहिरो दुःख व्यक्त गरिएको छ। मन्त्री खनालले उक्त विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै त्यसको भयावहता सामान्य बाढीको परिभाषाभन्दा निकै ठूलो रहेको र त्यसलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिनुपर्ने अवस्था रहेको बताए।

मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे साथै कठिन समयमा नेपालप्रति ऐक्यबद्धता जनाउने मित्रराष्ट्र तथा साझेदारहरूप्रति आभार व्यक्त गरे।

दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालको पहिलो महासभाले संस्थागत विकासमा नयाँ अध्याय सुरु गरेको उल्लेख गर्दै उनले यस भेलाले सदस्य राष्ट्रहरूबीचको मित्रता, विश्वास र साझेदारीलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।