ग्यास नपाइने समस्या समाधान गर्न नवनियुक्त उद्योगमन्त्री साह उद्योगीसँग छलफल गर्दै
काठमाडौं। बजारमा एलपी ग्यासको आपूर्ति सहज हुन नसक्दा उपभोक्ताले समस्या भोगिरहेका बेला नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास उद्योगी तथा सम्बन्धित सरोकारवालासँग छलफल गर्ने भएका छन्।
मन्त्री साहले ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न आज साँझ ५ बजे ग्यास उद्योगीहरूलाई बोलाएका हुन्।
पछिल्लो समय ग्यास खरिदका लागि उपभोक्ताले लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था देखिएको छ भने केही स्थानमा कालोबजारीसमेत बढेको गुनासो आएको छ।
उपभोक्ताबाट लगातार ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो आउन थालेपछि मन्त्रालयले आपूर्ति व्यवस्थालाई प्राथमिकतामा राख्दै समस्या समाधानका लागि उद्योगीसँग छलफल गर्न लागेको हो।
बैठकमा बजारमा एलपी ग्यासको उपलब्धता, आपूर्ति व्यवस्थापन, वितरण प्रणालीमा देखिएका अवरोध तथा उपभोक्तालाई नियमित रूपमा ग्यास उपलब्ध गराउने उपायबारे छलफल हुने बताइएको छ।
त्यसैगरी ग्यासको वितरणमा कहाँ–कहाँ समस्या देखिएको छ, आपूर्ति हुँदाहुँदै पनि उपभोक्ताले किन सहज रूपमा ग्यास पाउन सकेका छैनन् र बजार व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको वर्तमान अवस्थाबारे उद्योगीहरूले मन्त्रीसमक्ष आफ्नो धारणा राख्ने बताएका छन्।
चन्दका अनुसार ग्यासको बजारमा देखिएको समस्याबारे छलफल गर्न मन्त्री साहले आज साँझ उद्योगीहरूलाई बोलाएको उल्लेख गरे।
उनले बजारमा ग्यासको अवस्था बुझ्न सुरक्षा निकाय र वाणिज्य विभागको संयुक्त टोलीले अनुगमन गरिरहेको जानकारी दिए। उनका अनुसार विभिन्न स्थानमा ग्यासको आपूर्ति, बिक्री तथा वितरणको अवस्थाबारे निरीक्षण भइरहेको छ।
तर अनुगमनसँगै वितरण प्रणालीमा रहेका व्यावहारिक समस्या पहिचान गरेर त्यसको सुधार गर्नुपर्ने आवश्यकता रहेको चन्दको भनाइ छ। बजारमा ग्यासको आपूर्ति नियमित रहे पनि वितरण प्रक्रियामा आउने अवरोधका कारण उपभोक्ताले समस्या भोग्नुपरेको उनको भनाइ छ।
मन्त्री साह र ग्यास उद्योगीबीच हुने छलफलबाट बजारमा देखिएको समस्या पहिचान गरी आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।












