२८ भदौ २०८३, आइतबार

द्वन्द्वबीच इरान र यूएईले मिलाए कूटनीतिक हात, युद्धमा संयमता अपनाउन आह्वान



काठमाडाैं । इरान र संयुक्त अरब इमिरेट्स (यूएई) ले मध्यपूर्वमा जारी युद्धका विषयमा संयमता अपनाउन आह्वान गर्दै ब्रिक्स समूहले जारी गरेको संयुक्त वक्तव्यमा समर्थन जनाएका छन्।

युद्धका कारण लामो समयदेखि फरक धारमा रहेका इरान र यूएई एउटै वक्तव्यमा सहमत हुनु दुई देशबीच कूटनीतिक संवाद अघि बढेको संकेतका रूपमा हेरिएको छ।

भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन इरानी राष्ट्रपति मसुद पेजेस्कियान र अबुधाबीका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यानबीच पनि भेटवार्ता भएको छ। द्वन्द्व सुरु भएयता दुई देशका शीर्ष तहका नेताबीच भएको यो सबैभन्दा उच्चस्तरीय भेटवार्ता हो।

अबुधाबी मिडिया कार्यालयका अनुसार दुई नेताबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषय, तनाव न्यूनीकरण, क्षेत्रीय स्थिरता तथा शान्ति र विकासका लागि भइरहेका प्रयासबारे छलफल भएको थियो। यद्यपि, वार्ताबाट कुनै ठोस सहमति भएकोबारे जानकारी दिइएको छैन।

सन् २००९ मा अमेरिका र उसका पश्चिमी सहयोगीहरूको प्रभुत्व रहेको विश्व व्यवस्थालाई चुनौती दिने उद्देश्यले स्थापना गरिएको ब्रिक्स अहिले इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान र यूएईलगायत देशहरू समेटिएको ठूलो समूह बनेको छ। यसमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका संस्थापक सदस्य हुन्।

नयाँ दिल्लीमा जारी सम्मेलनमा आयोजक तथा कूटनीतिज्ञहरूले इरान र यूएईबीचको मतभेद कम गराउन विशेष ध्यान दिएका थिए। उता, करिब छ महिनादेखि जारी युद्धमा अमेरिका र इरानबीच पुनः एकअर्कामाथि आक्रमण भइरहेका छन्।

युद्धका क्रममा इरानले यूएईमाथि पटक-पटक आक्रमण गरेको छ। पछिल्लो पटक अगस्टको अन्त्यतिर अमेरिकी सेना तथा हेलिकोप्टरहरू तैनाथ रहेको अल मिनहाद एयर बेसलाई लक्षित गरी आक्रमण गरिएको थियो।

ब्रिक्सको संयुक्त घोषणापत्रमा मध्यपूर्व तथा पश्चिम एसियामा निरन्तर बढिरहेको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै अधिकतम संयमता अपनाउन र परिस्थितिलाई थप बिगार्ने गतिविधिबाट बच्न आह्वान गरिएको छ।

वक्तव्यले सर्वसाधारणको सुरक्षा गर्न, देशहरूको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न तथा विश्वव्यापी व्यापार, आपूर्ति शृंखला, ऊर्जा प्रवाह र समुद्री सुरक्षाको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ।

सम्मेलनमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी चिनफिङ र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायतका नेताहरू सहभागी छन्। अमेरिका, रूस, इजरायल, इरान तथा खाडीका अरब राष्ट्रहरूसँग बलियो सम्बन्ध राख्ने भारत अहिले संवेदनशील कूटनीतिक सन्तुलन कायम गर्ने प्रयासमा छ।