मृत्युलाई पनि झुक्याउने रूसी राष्ट्रपति पुटिनको अभेद्य घेरा: यस्ताे छ आरुस लिमोजिन र छायाँ कमाण्डोको रहस्य!
काठमाडाैं । ब्रिक्स शिखर सम्मेलनको सन्दर्भ पारेर जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सवार विशेष विमान नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो, तब पूरै विश्वको नजर भारततर्फ सोझियो।
विमानको ढोका खुल्नासाथ उनीसँगै १०० भन्दा बढी उच्चस्तरीय सुरक्षा अधिकारी, गुप्तचर र एजेन्टहरूको टोली ओर्लियो। विमानबाट ओर्लिना साथ पुटिन आफ्नो टल्किने कालो रङको अभेद्य सवारी ‘आरुस सिनात लिमोजिन’ मा सवार भए। जब पुटीन सवार याे गाडीले भारतमा कदम राख्याे, गाडीभित्र सवार रूसी राष्ट्रपति र उनकाे सूरक्षामा खटिएकाे टाेली देखेर सबै चकित परेर ।
बेलायती विलासी कार ‘रोल्स-रोयस फ्यान्टम’ जस्तै देखिने पुटिनको यो आरुस सिनात लिमोजिन केवल एउटा गाडी मात्र होइन, सडकमा कुद्ने एउटा बख्तरबन्द किल्ला हो।
पोर्सेसँगको सहकार्यमा बनेको ४.४ लिटर भी 8 ट्विन-टर्बो हाइब्रिड इन्जिनयुक्त यो कार पूर्ण रूपमा बुलेटप्रुफ र बमप्रुफ छ। रासायनिक आक्रमण, रकेट लन्चर वा उच्च क्षमताको विष्फोटलाई समेत यसले हावामा उडाइदिन्छ। यसभित्र आफ्नै अक्सिजन सप्लाई र पूर्ण सुरक्षित सञ्चार प्रणाली छ, जसले पुटिनलाई हिँड्दाहिँड्दै पनि रुसी परमाणु हतियार नियन्त्रण गर्ने क्षमता दिन्छ भनिन्छ।
विश्वका सर्वाधिक शक्तिशाली र सतर्क शासकमध्येका एक पुटिन चीन, भारत वा जुनसुकै देशको भ्रमणमा जाऊन्, उनको सुरक्षामा प्रेसिडेन्सियल सेक्युरिटी सर्भिस (एसबीपी), फेडरल सेक्युरिटी सर्भिस (एफएसबी) र फरेन इन्टलिजेन्स सर्भिसका एजेन्टहरू दिन-रात छायाँ बनेर खटिन्छन्।
रूसी मिडिया ‘रसिया बियोन्ड’ का अनुसार, राष्ट्रपति पुटिन विदेश भ्रमणमा जाँदा उनको सुरक्षा टोली चार अभेद्य घेरा मा विभाजित हुन्छ। पहिलो र सबैभन्दा नजिकको घेरा: यो पुटिनका व्यक्तिगत अंगरक्षकहरूको टोली हो। यो घेरामा सर्वसाधारणको नजर सजिलै पर्दैन, तर उनीहरू राष्ट्रपतिलाई पलपलमा सुरक्षा दिइरहेका हुन्छन्।
दोस्रो घेराका एजेन्टहरू भीडको बीचमा सर्वसाधारण जस्तै घुलमिल भएर बस्छन्। उनीहरूको मुख्य काम कुनै पनि शंकास्पद गतिविधि वा व्यक्तिलाई तत्काल चिन्नु र नियन्त्रणमा लिनु हो।
तेस्रो घेरामा बस्ने टोलीले भीडको बाहिरी परिधिलाई घेरेर राख्छ। उनीहरूले कुनै पनि अनधिकृत वा शंकास्पद व्यक्तिलाई राष्ट्रपतिको नजिक आउनबाट रोक्छन्।
चौथो घेरामा बस्नेहरू वरपरका अग्ला भवनका छतहरूमा तैनाथ स्नाइपरहरू हुन्छन् । उनीहरूले टाढा-टाढासम्म सूक्ष्म नजर राख्छन्, ताकि राष्ट्रपतिमाथि आउन सक्ने कुनै पनि खतरालाई हावामै परास्त गर्न सकियोस्।
सुरक्षाको यो कथा गाडी र अंगरक्षकमा मात्र सीमित छैन; पुटिनको खानपिनको सुरक्षा त झन् अनौठो छ । इतिहासमा रुसी गुप्तचरहरूले विष प्रयोग गरेर विरोधीको हत्या गरेका वा प्रयास गरेका कयौँ चर्चित घटना (जस्तै: सिरगेई स्क्रिपाल वा अलेक्सी नाभाल्नी प्रकरण) विश्वसामु छ। त्यसैले, पुटिन आफैँ पनि विषको सम्भावित खतराबाट अत्यन्तै सजग छन्।
विदेश भ्रमणका क्रममा पुटिनले कुनै पनि देशको स्थानीय खाना वा पेय पदार्थ सिधै छुँदैनन्। उनको टोलीमा एक ‘व्यक्तिगत टेस्टर’ हुन्छ। पुटिनको अगाडि पस्कनुअघि हरेक खानेकुरा र पेय पदार्थ ती टेस्टरले आफैँ चाखेर र प्राविधिक रूपमा जाँच गरेर मात्र अनुमति दिन्छन्।
मानौँ, दिल्लीको हाई-प्रोफाइल डिनरमा पुटिनलाई स्याम्पेन वा पानी पिउनुपरेमा, उनी आफ्नै मस्को टोलीले साथमा ल्याएको सिलबन्दी बोतलबाट मात्र घुट्को लिन्छन्; आयोजक देशका कुनै पनि बोतललाई उनी छुँदै छुँदैनन्।
विश्व राजनीतिमा आफ्ना प्रतिद्वन्द्वी र शत्रुहरूको कमी नभएका पुटिन जहाँ जान्छन्, त्यहाँ आफ्नो सुरक्षाको यस्तो अत्याधुनिक र कडा जालो बुन्छन् कि सुरक्षा विशेषज्ञहरू समेत मुख बाउन बाध्य हुन्छन्। सडकमा आरुस सिनात लिमोजिनको गर्जन, हावामा अदृश्य एजेन्टको आँखा र खानामा गोप्य टेस्टरको पहरा-यिनै कारणले गर्दा पुटिनको यो सुरक्षा कवचलाई तोड्न मात्र होइन, स्पर्श गर्न पनि ‘असम्भव’ मानिन्छ ।












