विश्वमा ऊर्जा संकटको खतरा : होर्मुज वार्ता स्थगित, इन्धन आपूर्ति जोखिममा
काठमाडौँ। मध्यपूर्वमा तीव्र बन्दै गएको सैन्य तनावका बीच इरान र खाडी राष्ट्रहरूबीच आज सोमबार आयोजना हुने भनिएको महत्वपूर्ण बैठक रद्द भएको छ। अर्कोतर्फ साउदी अरबको प्रमुख तेल पाइपलाइन बन्द हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर संकट पैदा हुने खतरा समेत बढेको छ।
ओमानका विदेशमन्त्री सैयद बद्र अल्बुसैदीले सहमतिको वातावरण निर्माण गर्न भन्दै सोमबारका लागि तय क्षेत्रीय बैठक स्थगित गरिएको बताएका छन्। उक्त बैठकमा इरानले होर्मुज जलडमरूमध्यमा जलपोत आवागमन सहज बनाउने विषयमा ओमानसँग मिलेर तयार पारेको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको थियो।
साउदीको मुख्य पाइपलाइन बन्द हुँदा तेल आपूर्तिमा धक्का
यसैबीच ड्रोन प्रहारबाट क्षति पुगेपछि साउदी अरबले आफ्नो करिब १२ सय किलोमिटर लामो पूर्व पश्चिम तेल पाइपलाइन बन्द राखेको छ। होर्मुज मार्गको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो पाइपलाइन ठप्प बनेपछि इन्धन बजार प्रभावित भएको हो।
रोयटर्सका अनुसार पाइपलाइन सञ्चालनमा नआए साउदी इन्धनका खरिदकर्ता र व्यापारीहरूले यान्बु बन्दरगाहमा रहेको भण्डारबाट साउदीले बढीमा ५ देखि ७ दिनसम्म मात्र निर्यात धान्न सक्ने बताएका छन्। यदि उक्त समयभित्र पाइपलाइन सञ्चालनमा आएन भने विश्वव्यापी तेल आपूर्तिको करिब ४ प्रतिशत हिस्सा प्रत्यक्ष प्रभावित हुनेछ।
साउदीले मर्मतसम्भार सकिन कति समय लाग्छ भन्नेबारे आधिकारिक जानकारी दिएको छैन, तर यसका लागि केही दिनदेखि केही हप्तासम्म लाग्न सक्ने अनुमान छ।
समुद्री क्षेत्रमा आक्रमणले अन्तर्राष्ट्रिय बजारमा असर
यसैक्रममा होर्मुज क्षेत्रमा जलपोतहरूमाथि आक्रमणका घटना बढेका छन्। बेलायती समुद्री सुरक्षा निकाय यूकेएमटीओका अनुसार आइतबार होर्मुज भएर गइरहेको एक जहाजमा क्षेप्यास्त्र प्रहार भएपछि आगलागी हुँदा चालक दलको उद्धार गरिएको थियो।

इरानी क्षेत्रनजिकै अर्को व्यावसायिक जहाजमा भएको हमलामा एक जनाको ज्यान जानुका साथै चार जना घाइते भएका छन्।
यता, यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी भूभागलाई लक्षित गरी हमला जारी राखेका छन्। साउदीको दक्षिणी जाजान प्रान्तका आवासीय क्षेत्र र मस्जिदमा क्षति पुगेको छ भने हुथीले छिमेकी प्रान्तस्थित साउदी सैन्य अखडामा समेत प्रहार गरेको दाबी गरेको छ।
आपूर्ति शृंखला प्रभावित हुने डरले गत साता नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य जुलाईपछिकै उच्च विन्दुमा पुग्दै प्रतिब्यारेल १०० अमेरिकी डलर नाघिसकेको छ।












