३० भदौ २०८३, मंगलबार

घरजग्गा कारोबारमा उत्साह: गत आर्थिक वर्षमा ७ खर्ब २० अर्बभन्दा बढीको किनबेच



काठमाडौं। नेपालमा घरजग्गा कारोबारले पछिल्लो आर्थिक वर्षमा उल्लेख्य गति लिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्ष २०८२/८३ मा देशभर ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको देखाएको हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो कारोबारको कुल मूल्य ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ रहेको थियो। यसरी हेर्दा एक वर्षको अवधिमा घरजग्गा कारोबारको रकममा ठूलो विस्तार भएको देखिन्छ।

कारोबारको संख्यामा समेत सकारात्मक परिवर्तन आएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबार संख्या ४.७४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने घरजग्गा कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो।

यसरी हेर्दा गत आवमा घरजग्गा कारोबारमा उत्साह देखिएको हो।

आर्थिक वर्षको अन्त्यमा बढ्यो कारोबारको रफ्तार

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको अन्तिम तीन महिनामा घरजग्गा कारोबार अझ तीव्र बनेको देखिन्छ। चौथो त्रैमासमा मात्रै २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँ बराबरको घरजग्गा किनबेच भएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। उक्त तथ्यांकले वर्षको अन्तिम त्रैमासमा घरजग्गा बजारमा उल्लेख्य गतिविधि बढेको देखाएको छ।

घरजग्गा कारोबारबाट सरकारको राजस्व पनि बढ्यो

घरजग्गा कारोबारमा आएको विस्तारसँगै यस क्षेत्रबाट सरकारले उठाउने राजस्व पनि बढेको छ।समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व ४८.२६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व २३.४५ प्रतिशतले बढेको थियो ।

त्यस्तै, घरजग्गा बिक्रीबाट प्राप्त हुने पुँजीगत लाभकरमा पनि उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पुँजीगत लाभकर २९.९८ प्रतिशतले बढेको थियो।

घरजग्गा क्षेत्रमा कर्जा प्रवाह पनि बढ्यो

घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट जाने कर्जामा समेत वृद्धि भएको छ। आवासीय घरजग्गा कर्जा सहित यस क्षेत्रमा प्रवाह भएको बैंक कर्जा गत आर्थिक वर्षमा ६.९३ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा घरजग्गा क्षेत्रमा प्रवाह भएको यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो। यस वर्ष कर्जा विस्तारको दर अघिल्लो वर्षको तुलनामा केही माथि पुगेको हो।

समग्रमा गत आर्थिक वर्ष २०८२/८३ को तथ्यांकले नेपालमा घरजग्गा बजारमा कारोबारको संख्या, कारोबार भएको क्षेत्रफल, सरकारी राजस्व र बैंक कर्जा प्रवाहलगायत अधिकांश सूचकमा सुधार आएको देखाएको छ। घरजग्गा व्यवसायमा विशेषगरी बागमती प्रदेश तथा काठमाडौं उपत्यकाका प्रमुख महानगरपालिकामा कारोबार र मूल्य वृद्धिको दर उल्लेख्य देखिएको छ।