अमेरिकाद्वारा अन्तरिक्षमा सैन्य हतियार तैनाथ, स्पेस फोर्सले खोल्यो रहस्य
काठमाडाैँ । अन्तरिक्षको शीतयुद्धले नयाँ मोड लिएको छ। महाशक्ति राष्ट्र अमेरिकाले पृथ्वीको कक्षमा आफ्ना सैन्य अस्त्रहरू सफलतापूर्वक तैनाथ गरिसकेको पहिलो पटक खुला रूपमा स्वीकार गरेको छ।
शत्रु राष्ट्रबाट आउन सक्ने सम्भावित आक्रमणलाई चिर्न र आफ्ना अन्तरिक्ष सम्पत्ति सुरक्षित राख्न यो कदम चालिएको पेन्टागनको तर्क छ।
हालै सम्पन्न एक उच्चस्तरीय सुरक्षा सम्मेलनमा अमेरिकी वायुसेनाका वरिष्ठ अधिकारी ट्रूई मिङ्कले अन्तरिक्षमा हतियार राख्नु अपरिहार्य भइसकेको बताए। चीन र रुसले आफ्ना स्याटलाइटहरूलाई निसाना बनाउन सक्ने खतरा बढेपछि वासिङ्टन यो निर्णयमा पुगेको हो।
ट्रम्प प्रशासनको अघि सारिएको ‘गोल्डन डोम’ प्रतिरक्षा प्रणालीलाई सुरक्षित पार्न पनि कक्षमा आधारित रक्षात्मक तथा आक्रामक संयन्त्रहरू अपरिहार्य मानिएका छन्। यद्यपि ती अस्त्रहरूको वास्तविक क्षमता र तिनलाई अन्तरिक्षमा पठाइएको ठ्याक्कै मिति भने अझै गोप्य राखिएको छ।
सन् २०१९ मा स्थापित ‘यूएस स्पेस फोर्स’ अब केवल निगरानीमा मात्र सीमित नरहेर आक्रामक कारबाहीमा समेत उत्रन सक्ने गरी तयार पारिएको छ। अन्तरिक्ष नियन्त्रणका लागि शत्रु पक्षका संयन्त्रहरूलाई भौतिक वा अभौतिक माध्यमबाट निस्तेज पार्ने अधिकार यो फौजलाई दिइएको छ।
सन् १९६७ को अन्तरिक्ष सन्धिले आमविनाशका हतियारलाई निषेध गरे पनि त्यसको दायरा बाहिर रहेर शत्रुको क्षमता कमजोर बनाउने प्रविधि विकास गर्न अमेरिका वर्षौंदेखि क्रियाशील थियो।
रुस र चीनले अन्तरिक्षलाई नै भावी द्वन्द्वको मुख्य युद्धभूमिको रूपमा लिन थालेपछि अमेरिका थप दबाबमा परेको हो। युक्रेन युद्धका दौरान रुसी स्याटलाइटहरूले युरोपेली स्याटलाइटको सञ्चार प्रणालीमाथि निगरानी बढाएको तथा नियन्त्रणमा लिएको घटनाले अमेरिकाको चिन्ता थप गहिर्याएको थियो।
बेइजिङ र मस्कोले आफ्ना सैन्य आधुनिकीकरणको मुख्य आधार नै अन्तरिक्ष क्षेत्रलाई बनाइरहेकाले अमेरिकी यो कदमले आगामी दिनमा अन्तरिक्षको सामरिक प्रतिस्पर्धालाई थप खतरनाक मोडमा पुर्याउने निश्चित देखिन्छ।












