३१ भदौ २०८३, बुधबार

क्यानडाका पशुपतिनाथ भक्तजनबाट नेपालका बाढीपीडितलाई ३७ लाखभन्दा बढीको सहयोग



क्यानडामा संकलित ३७ लाखभन्दा बढीको राहत रकम नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ।

काठमाडाैँ । नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि क्यानडाबाट ठूलो सहयोग रकम प्राप्त भएको छ।

क्यानडास्थित पशुपतिनाथ मन्दिरले यहाँका पीडितहरूको घाउमा मलम लगाउने उद्देश्यले ३७ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहयोग जुटाएको हो। विदेशमा रहेर पनि नेपालीहरूले आफ्नो मातृभूमिप्रतिको उत्तरदायित्व र सद्भाव कायमै राखेको यस घटनाले पुष्टि गरेको छ।

पशुपतिनाथ मन्दिर क्यानडाका अनुसार नेपाल सरकारले बाढी प्रभावित क्षेत्रमा अघि बढाएका उद्धार र पुनःस्थापनाका योजनाहरूलाई सघाउनका लागि उक्त सहयोग प्रदान गरिएको हो। विशेष गरी रसुवाका बाढी प्रभावित क्षेत्रलाई लक्षित गरेर यो राहत अभियान सञ्चालन गरिएको थियो।

मन्दिरका तर्फबाट संकलन गरिएको ३७ लाख १७ हजार ७१६ रुपैयाँ औपचारिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिਪठाइएको छ।

विदेशमा रहेका नेपालीहरूले मात्र नभई क्यानडामा बसोबास गर्ने भारतीय मूलका नागरिक तथा स्थानीय समुदायले समेत यस मानवीय सहायता अभियानमा खुलेर साथ दिएका छन्। मन्दिरका सचिव कमल चापागाइँका अनुसार क्यानडामा बस्ने विभिन्न समुदायका व्यक्तिहरूको समेत सहभागितामा यो कोष तयार पारिएको हो।