३१ भदौ २०८३, बुधबार

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने



काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद् व्यवस्थापन, राहत तथा पुनर्स्थापनाका विषयमा समन्वय गर्न सर्वदलीय संयन्त्र गठन गरिने भएको छ। बुधबार भएको सर्वदलीय छलफलले आगामी सात दिनभित्र उक्त संयन्त्र निर्माण गर्ने विषयमा सहमति जुटाएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीका अनुसार बैठकमा सर्वदलीय संयन्त्र गठनसँगै घटनाबारे संसदीय समितिमार्फत छानबिन गर्ने विषयमा समेत छलफल भएको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले सात दिनभित्र संयन्त्र गठन गर्ने कुरा भएको जानकारी दिए। उनका अनुसार बैठकमा ‘सनसेट ल’ कार्यान्वयन गर्ने विषय पनि छलफलमा आएको थियो।

रसुवामा भदौ १० गते ठूलो बाढी आएपछि त्यसको भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक रहेको प्रस्ताव गरेका थिए।

त्यस क्रममा लामिछानेको पहलमा सर्वदलीय बैठक बसेको थियो। बैठकमा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनता समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी थिए।

बैठकमा सरकारलाई उद्धारदेखि पुनर्स्थापनासम्म आवश्यक सहयोग तथा समन्वय गर्न सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारिएको थियो। उक्त प्रस्तावमा सहभागी दलहरूले सहमति जनाएका थिए।

त्यसपछि जारी गरिएको १० बुँदे संकल्पमा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा आवश्यक सुधार तथा सरकारी कामको निरन्तर अनुगमन र सल्लाहका लागि संसदीय समिति गठन गर्ने विषय समेटिएको थियो।

यसैबीच प्रस्तावित संयन्त्रलाई आपत्कालीन अवस्थामा मात्र सीमित नराखी विपद् न्यूनीकरण तथा पूर्वतयारी, दिगो विकास र दीर्घकालीन नीतिगत सुधारमा समेत प्रयोग गर्ने अवधारणा अघि सारिएको छ।

यसअघि भदौ १६ गते बसेको सर्वदलीय बैठकले पनि संयन्त्र गठन गर्ने विषयमा सहमति जनाएको थियो। तर त्यसबेला संयन्त्र गठन हुन सकेको थिएन। बुधबारको बैठकले भने संयन्त्र गठनका लागि सात दिनको समयसीमा नै तोकेको हो।