३१ भदौ २०८३, बुधबार

बजारमा चिनीको अभाव नरहेको वाणिज्य विभागको दाबी, अधिक सञ्चय नगर्न अनुरोध



काठमाडौँ। चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको अभाव देखिएको र उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको भन्ने खबरहरु सार्वजनिक भइरहेका बेला सरकारले भने आपूर्ति पर्याप्त रहेको दाबी गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार जारी गरेको विज्ञप्तिमा काठमाडौं उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट प्रतिकिलो ११० रुपैयाँमा चिनी उपलब्ध भइरहेको उल्लेख गरिएको छ।

यसअघि भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर क्षेत्रमा गएको पहिरोका कारण यातायात प्रभावित भएपछि नेपालमा चिनीको आपूर्ति प्रभावित भएको समाचारहरू सार्वजनिक भएका थिए। त्यससँगै बजारमा चिनी अभाव भएको र मूल्य बढेको बताइएको थियो तर विभागले भने बजारमा चिनीको कुनै अभाव नरहेको दाबी स्पष्ट पारेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको अध्यक्षतामा भदौ ३० गते सरोकारवालासँग भएको छलफलपछि चिनीको नियमित र सहज आपूर्तिका लागि आवश्यक व्यवस्था गरिएको विभागको भनाइ छ। विभागका अनुसार काठमाडौं उपत्यकामा भाटभटेनी, बिग मार्ट, सेल्सबेरीलगायत एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकिलो ११० रुपैयाँमा चिनी खरिद गर्न सकिनेछ।

विभागले बजारमा पर्याप्त चिनी उपलब्ध रहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ठूलो परिमाणमा चिनी सञ्चय नगर्न पनि आग्रह गरेको छ। सरकारले आपूर्ति सहज रहेको दाबी गरेकाले चिनीको अभाव हुने भन्दै आत्तिनुपर्ने अवस्था नरहेको विभागको भनाइ छ।